कांग्रेस उपसभापति शर्मा भन्छन् : रास्वपाले २०७९ मै संकेत देखाइसकेको थियो, हाम्रो स्वीकार छ

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको परिणामलाई स्वीकारेका छन् । चुनावी प्रारम्भिक मत परिणाम अनुसार पार्टीले लज्जास्पद हार बेहोर्दै गर्दा उपसभापति शर्माले संयमित भएर मतदाताको फैसला स्वीकार्य भएको बताएका हुन् । 

उनले ०६४ सालमा जसरी सशस्त्र द्वन्द्वबाट आएको माओवादीले जितेर उदाएको थियो त्यही संयम दोहोहर्याउँदै रास्वपा आइरहेको भन्दै उक्त परिणामलाई स्वागत गरेका हुन् । 

उपसभापति शर्माले रास्वपाको यो परिणाम अप्रत्याशित नभएको बताएका छन् । उनले ०७९ को चुनावमै रास्वापले उक्त संकेत देखाइसकेको भन्दै अहिले आएको यो परिणाम अप्रत्याशित नभएको बताए । 

रास्वपा ०७९ को असारमा गठन भएर मंसिरमा चुनाव लड्दा राष्ट्रिय दलको मान्यतासहित चौथो ठूलो दल बनेको थियो । यसपालिको प्रारम्भिक मतगणना अनुसार रास्वपाको दुई तिहाई मत आउने लगभग पक्का देखिएको छ । 
०७९ को निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बनेको थियो । 

उपसभापति शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मतदाताको फैसला स्विकार्य छ ! ‘बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्याउँदै ‘ब्यालेट’बाट आउँदै गरेको रास्वपालाई स्वागत । ०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होईन  । चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ ।’

Share News