सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये हालसम्म ११ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, ७ ठाउँमा रास्वपा विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्रमध्ये हालसम्म ११ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । केही क्षेत्रमा मतगणना जारी छ । हालसम्म सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हासिल गरेको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेको छ । यस्तै नेपाली कांग्रेसले २, नेकपा एमालेले २ सिट जितेको छ । बझाङ, दार्चुला र अछाम-१ मा भने रास्वपाका उम्मेदवार पराजित भएका छन् । अछाम-२ मा पनि रास्वपाका उम्मेदवार पछि परेका छन् ।

सार्वजनिक नतिजा अनुसार कैलाली क्षेत्र नम्बर १ मा रास्वपाकी कोमल ज्ञवाली १७ हजार ८२६ मत प्राप्त गर्दै विजयी भएकी छन् भने कैलाली- ५ मा पनि रास्वपाका आनन्द चन्द ३१ हजार ९५३ मतसहित विजयी भएका छन् । कञ्चनपुर क्षेत्र नम्बर २ मा रास्वपाका दीपक बोहरा ३३ हजार ९५२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । डोटीमा भने नेपाली कांग्रेसका भरत खड्का १४ हजार ८९७ मत ल्याएर विजयी भएका छन् भने अछाम-१ मा नेपाली कांग्रेसका भरत स्वाँर १० हजार ७५९ मत प्राप्त गर्दै विजयी भएका छन् ।

बझाङमा नेकपा एमालेका ऐन महर १८ हजार ५४३ मतसहित निर्वाचित भएका छन्। डडेल्धुरामा भने ३४ वर्षपछि नेपाली कांग्रेसको किल्ला ढलेको छ । उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार डा.ताराप्रसाद जोशी १९ हजार १३१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका थिए । जोशीले ७ हजार १० मतान्तरले महरलाई पराजित गरेका हुन् । कैलाली क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रसाद जोशी भारी मतान्तरसहित विजयी भएका छन् । 

उनले २० हजार ३५९ मत प्राप्त गरेका छन् । कञ्चनपुर क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्रसिंह महता विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहरालाई १७ हजार ६७५ मतान्तरले पराजित गरेका हुन्। कञ्चनपुर-१ मा रास्वपाका जनकसिंह धामी २४ हजार ३३२ मतसहित निर्वाचित भएका छन् । दार्चुलामा नेकपा एमालेका गणेश ठगुन्ना १८ हजार ८९१ मत प्राप्त गर्दै विजयी भएका छन् । यसैबिच बैतडी, अछाम-२, कैलाली-४, कैलाली-२ र बाजुरामा मतगणना जारी छ । बैतडीमा रास्वपाले अग्रता लिएको छ भने अछाम-२ मा एमाले अगाडि रहेको छ । कैलाली-४ मा रास्वपाको जित लगभग सुनिश्चित भएको छ। बाजुरामा भने नेपाली कांग्रेसले अग्रता लिएको छ ।

Share News