चीनमा फक्सवागनको पुनरागमन, सरकारी अनुदान घट्दा बीवाईडी चौथो स्थानमा खुम्चियो

विद्युतीय कार खरिदमा दिइने कर छुटको म्याद सकिँदै गएको छ

काठमाडौं । चीनमा कार बिक्रीमा भक्सवागन फेरि शीर्ष स्थानमा पुगेको छ भने हरित (विद्युतीय) सवारीसाधनका लागि दिइने अनुदान घट्दै जाँदा बीवाईडी चौथो स्थानमा झरेको छ ।

विश्वकै सबैभन्दा ठूलो अटो बजार चीनमा २०२६ का पहिलो दुई महिनामा फक्सवागनले फेरि कार बिक्रीमा अग्रता हासिल गरेको हो । सोही अवधिमा टोयोटाले पनि आफ्नो बजार हिस्सा केही पुनः बढाएको छ । 

दुवैले स्थानीय इलेक्ट्रिक गाडी निर्माता बीवाईडीलाई उछिन्दै अघि बढेका हुन्, जबकि वातावरणमैत्री सवारीका लागि दिइने सरकारी अनुदान क्रमशः घट्दै गएको छ ।

चीनका सरकारी कम्पनी एफएडब्ल्यू ग्रुप र एसएआईसी मोटरसँगको साझेदारीमार्फत फक्सवागनका संयुक्त उद्यमहरूले यात्रुवाहक सवारी बजारमा कुल १३.९ प्रतिशत हिस्सा ओगटेका छन् । त्यसपछि जीलीको १३।८ प्रतिशत बजार हिस्सा रहेको छ भने टोयोटाका जीएसी ग्रुप र एफएडब्ल्यू ग्रुपसँगका संयुक्त उद्यमहरूको संयुक्त हिस्सा ७.८ प्रतिशत रहेको चीन प्यासेन्जर कार एसोसिएसनको तथ्यांकले देखाएको छ ।

स्थानीय इलेक्ट्रिक सवारी उत्पादकसँग प्रतिस्पर्धा गर्न संघर्ष गरिरहेका पुराना (परम्परागत) अटो निर्माता कम्पनीहरूको बजारमा पुनरागमन यस्तो समयमा भएको हो, जब चीनमा इलेक्ट्रिक कार खरिदमा दिइने कर छुटको म्याद सकिँदै गएको छ र सरकारले ईभी साटासाट (ईभी ट्रेड) मा दिँदै आएको अनुदान पनि घटाउँदै लगेको छ ।

अनुदान घट्दै जाँदा टोयोटाले विशेष रूपमा उत्पादन गर्ने हाइब्रिड गाडीले केही उपभोक्तालाई प्लग-इन हाइब्रिड (पीएचईभी) गाडीबाट टाढा लैजान थालेको चीन प्यासेन्जर कार एसोसिएसनका महासचिव कुई डोङ्शुले बताएका छन् ।

सस्तो मूल्यका इलेक्ट्रिक र प्लग–इन हाइब्रिड गाडीमा निर्भर स्थानीय अटो निर्माता कम्पनीहरूलाई अनुदान कटौतीको सबैभन्दा ठूलो असर परेको छ ।

सन् २०२४ मा चीनमा कार बिक्रीका आधारमा फक्सवागनलाई पछि पार्दै सबैभन्दा ठूलो कार निर्माता बनेको बीवाईडीले गत वर्ष पनि शीर्ष स्थान जोगाएको थियो । तर २०२६ को जनवरी–फेब्रुअरी अवधिमा यसको बजार हिस्सा ७.१ प्रतिशतमा झर्दै चौथो स्थानमा पुगेको छ, जुन महामारीयता यसको कुल बिक्रीमा देखिएको सबैभन्दा ठूलो गिरावट हो ।

Share News