८१ करोडको कारोबार, ८० लाख सरकारलाई कर

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

दीपक चन्द

काठमाडौं । झापाको मेचीनगर-१२ धाइजनस्थित ‘ऋतिका डेरी उद्योग प्रालि’ पूर्वी नेपालको डेरी क्षेत्रमा एक सफल र उदाहरणीय उद्योगका रूपमा स्थापित छ । यो सफलताका पछाडि वर्षौंदेखिको सङ्घर्ष, निरन्तर मेहनत र दूरदर्शि सोच जोडिएको छ । उद्योगका सञ्चालक योगेन्द्र चिमोरियाले पारिवारिक कठिनाइबाट सुरु गरेको सानो प्रयासलाई आज ठूलो उद्योगमा रूपान्तरण गरेका छन् । 

वि.सं २०५० तिर उनका बुबा घनश्याम चिमोरियाले गाउँघरमा सङ्कलन भएको दूध साइकलबाट भारतको सिलिगुडी बजार पुर्याउने काम गर्थे । त्यसबेला नेपालमा दूधको बजार सीमित थियो, जसका कारण उत्पादन भएको दूध भारतीय बजारमा बेच्नुपर्ने बाध्यता थियो ।

केही वर्षपछि योगेन्द्रका दाजु पनि यस व्यवसायमा जोडिए । विस्तारै गाउँका अन्य व्यक्तिहरूलाई समेत जोड्दै दूध सङ्कलनको दायरा बढ्दै गयो । त्यसबेला दैनिक करिब १ हजार ५०० लिटर दूध साइकलबाटै सिलिगुडी पुर्याइन्थ्यो, जुन आफैँमा चुनौतीपूर्ण काम भएको चिमोरियाको भनाइ छ ।

‘समयसँगै दूधको माग बढ्दै गयो र सङ्कलन पनि विस्तार हुँदै गयो । त्यसपछि पिकअप भ्यान खरिद गरेर दूध ढुवानी गर्न थाल्यौँ । भारतीय दूतावासको अनुमति लिएर २०६० सालदेखि व्यवस्थित रूपमा ढुवानी सुरु गरियो । त्यसपछि व्यवसायलाई थप गति दिन सफल भएका हौँ,’ उनले भने । 

चिमोरियाले वि.सं २०६१ तिर सिलिगुडीस्थित हिमुल डेरीमा दूध बिक्री गर्न थालेपछि डेरी उद्योगको सम्भावना नजिकबाट बुझेको बताए । यही अनुभवले आफूलाई नेपालमै डेरी उद्योग स्थापना गर्ने सोचतर्फ प्रेरित गरेको उनले सुनाए । 

त्यही सोचले वि.सं २०६३ मा चिमोरिया परिवारले घरेलु तथा साना उद्योगमा दर्ता गरेर औपचारिक रूपमा डेरी व्यवसाय सुरु गर्याे । नेपालमै डेरी उत्पादनको बजार छ भन्ने कुरा वि.सं २०६३ को तीज मेलामा देखिएको उच्च मागले पुष्टि गरेको व्यवसायी चिमोरियाको बुझाइ छ । उक्त मेलामा दूध र दहीको अत्यधिक माग भएपछि पूर्ण रूपमा डेरी व्यवसायमा लाग्ने निर्णय गर्न सहज भएको उनको भनाइ छ । 

वि.सं २०६५ तिर बिर्तामोडमा सञ्चालनमा रहेको पञ्चामृत डेरी १२ लाख रुपैयाँमा खरिद गरेपछि चिमोरियाले आफ्नो व्यवसायलाई थप विस्तार गरे । त्यसपछि बिस्तारै उद्योगको संरचना, प्रविधि र बजार विस्तार गर्दै ‘ऋतिका डेरी उद्योग’ ले आजको रूप लिएको हो ।

हाल ऋतिका डेरी उद्योगमा झापा र इलामका ३२ वटा सङ्कलन केन्द्रबाट दैनिक ३१ हजार लिटरभन्दा बढी दूध सङ्कलन हुने गरेको छ । यहाँका ६ सयभन्दा बढी किसान तथा सहकारीमार्फत दूध उद्योगमा आउने गरेको र  यसले ग्रामीण अर्थतन्त्रलाई प्रत्यक्ष रूपमा सघाएको चिमोरिया बताउँछन् । 

उद्योगले १२० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ, जसमध्ये ८४ जना सामाजिक सुरक्षा कोषमा आबद्ध छन् । यसबाहेक ढुवानी, बिक्री वितरण र अन्य सहायक क्षेत्रमा सयौँले अप्रत्यक्ष रोजगारी पाएका छन् । सञ्चालक चिमोरियाका अनुसार गत आर्थिक वर्षमा उद्योगले ८१ करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो भने विभिन्न कर शीर्षक अन्तर्गत करिब ८० लाख रुपैयाँ सरकारलाई कर बुझाएको छ ।

यस उद्योगमा सङ्कलित दूधबाट दैनिक करिब १३ हजार लिटर प्याकेट दूध, ५ हजार लिटर दही, २ हजार लिटर पनिर, १ हजार लिटर बराबरका मिठाई तथा आइसक्रिम, ५ हजार लिटरबाट छुर्पी उत्पादन गरिन्छ । बाँकी दूध बदाम ड्रिङ्क उद्योगलाई आपूर्ति गरिन्छ भने अतिरिक्त दूध पाउडरका रूपमा प्रशोधन गरिन्छ ।

चिमोरियाका अनुसार उद्योगको मुख्य बजार कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाहरू हुन् । केही उत्पादन पहाडी जिल्लामा पनि पुग्ने गरेका छन् । यहाँ उत्पादन भएको घीउ र छुर्पी भने काठमाडौं हुँदै अमेरिका र युरोपसम्म पुग्ने गरेका छन्, यद्यपि उद्योगले प्रत्यक्ष निर्यात नगरी व्यापारीमार्फत विदेश पठाउने गरेको चिमोरियाले जानकारी दिए । 

उनले डेरी उद्योगसँगै गाई फार्म पनि सञ्चालन गर्दै आउनुभएको छ । यो फार्म केवल दूध उत्पादनका लागि नभई किसानलाई उन्नत गाईपालनतर्फ आकर्षित गर्ने उद्देश्यले स्थापना गरिएको हो । चिमोरियाले साना स्तरका किसानलाई आधुनिक तरिकाले गाईपालन गर्न सिकाउने, समस्या समाधान गर्ने र उत्पादन वृद्धि गराउने लक्ष्यसहित गाई फार्म सञ्चालन गरिएको बताए । 

‘भारतको गुजरात मोडेलबाट प्रेरित भएर साना फार्ममार्फत उत्पादन बढाउने रणनीति अपनाइएको छ । यसअनुसार साना किसानले सुरुमा ५ लिटर दूध उत्पादन गर्ने क्षमताबाट सुरु गरेर क्रमशः १० लिटर र २० लिटर उत्पादनसम्म पुग्ने लक्ष्यसहित यो मोडेलमा काम गरिरहेका छौँ । यसले किसानको आम्दानी बढाउने र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा छ,’ उनले भने । 

डेरी उद्योग सञ्चालनका क्रममा चिमोरियाले विभिन्न चुनौतीको सामना गर्नुपरेको छ । सुरुमा दक्ष जनशक्ति अभाव र ‘लोडसेडिङ’ प्रमुख समस्या थिए । हाल ती समस्या केही हदसम्म समाधान भए पनि अन्य चुनौती थपिएका छन् । 

‘उत्पादन लागत उच्च हुनु, निर्यातका लागि नीतिगत जटिलता हुनु र विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था मुख्य समस्या हुन् । विशेषगरी नेपालमा आयात हुने डेरी उत्पादनमा भन्सार शुल्क कम भए पनि नेपाली उत्पादन निर्यात गर्दा झन्झटिलो प्रक्रिया भोग्नुपरेको छ,’ चिमोरियाले गुनासो गर्दै भने । 

उनका अनुसार नेपाली छुर्पीको अन्तरराष्ट्रिय बजारमा अत्यधिक माग छ, विशेषगरी युरोप र अमेरिकामा । निर्यात प्रक्रियामा रहेका नीतिगत अवरोधका कारण भने यसको पूर्ण लाभ लिन सकिएको छैन । यसर्थ सरकारले छुर्पी निर्यातलाई सहज बनाउने नीति ल्याउनुपर्ने र अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्नुपर्ने चिमोरियाका माग छ । उहाँले डेरी व्यवसायलाई मासु उत्पादनसँग जोडेर अघि बढाउन सकिने सम्भावनातर्फ पनि ध्यानाकर्षण गराए । नेपाल र चीनबीच भैँसी तथा राँगाको मासु निर्यातसम्बन्धी सम्झौताले यस क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सक्ने चिमोरियाको भनाइ छ ।

‘मासु उत्पादनसँगै दूध उत्पादन पनि हुने भएकाले यी दुई व्यवसायलाई सँगसँगै अघि बढाउन सके थप रोजगारी सिर्जना र आम्दानी वृद्धि हुनसक्छ । यस विषयमा सरकारले काम गर्नुपर्छ,’ उनले भने । 

योगेन्द्र चिमोरियाको यो कथा केवल एक सफल उद्योगीको कथा मात्र होइन, ग्रामीण नेपालमा सम्भावनाहरू कसरी पहिचान र उपयोग गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण पनि हो । साइकलबाट दूध बोकेर बजार पु¥याउने अवस्थाबाट सुरु भएको यात्रा आज हजारौँ लिटर दूध प्रशोधन गर्ने उद्योगमा परिणत हुनु आफैँमा उल्लेखनीय उपलब्धि हो । उहाँको प्रयासले किसान, श्रमिक र स्थानीय अर्थतन्त्रलाई सशक्त बनाएको छ । यदि यस्ता उद्यमलाई राज्यले उचित नीति, सहुलियत र प्रोत्साहन दिन सके, नेपालमा डेरी क्षेत्रले अझ ठूलो आर्थिक योगदान दिन सक्ने चिमोरियाको सङ्घर्षले देखाउँछ । रासस

Share News