काठमाडौं । फागुन २१ को निर्वाचनवाट निर्वाचित प्रतिनिधि सभाको पहिलो बैठक चैत्र दोस्रो साता गर्ने तयारीमा संसद सचिवालय लागेको छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसदको बहुद्देश्यीय हल एक/दुई दिनमै तयार हुँदैछ । अहिले सोही हलमै प्रतिनिधि सभा सञ्चालन गर्ने तयारी भइरहेको गिरीले जानकारी दिए ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यहरूको संसदीय यात्रा अब औपचारिक रूपमा सुरु हुने तयारीमा पुगेको गिरीले जानकारी दिए । संसद सचिवालयले चैत १२ गतेभित्र नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रम सम्पन्न गर्ने र चैत १५ गते पहिलो बैठक बसाल्ने गरी आन्तरिक तयारी तीव्र बनाएको गिरीले जानकारी दिए ।
निर्वाचन आयोगका अनुसार आयोगले चैत्र ५ गते बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । आयोगले सोही दिन संसद सचिवालयलाई निर्वाचित सदस्यहरूको नामावली उपलब्ध गराउने तयारी गरेको छ ।
नामावली प्राप्त भएपछि सचिवालयले सांसदहरूलाई शपथ कार्यक्रममा उपस्थित हुन सात दिने सूचना जारी गर्ने चलन रहेको गिरीले जानकारी दिए । यसबीचमा शपथ समारोहका लागि राष्ट्रपतिको समय समन्वय गर्न औपचारिक पत्राचारसमेत अघि बढाइने संसद सचिवालयले जानकारी दिएको छ ।
प्रवक्ता गिरीका अनुसार नयाँ सभामुख चयन नभएसम्मका लागि सबैभन्दा जेष्ठ सदस्यलाई अस्थायी रूपमा सभामुखको जिम्मेवारी दिइन्छ । राष्ट्रपतिले ज्येष्ठ सदस्यलाई अन्य सांसदभन्दा अगाडि शपथ गराउने व्यवस्था रहेको गिरीले जानकारी दिए ।
यी सम्पूर्ण प्रक्रिया पूरा गर्न कम्तीमा चैत १२ लाग्यो भने १५ गतेसम्म संसदको पहिलो बैठक आयोजना गर्न सकिने प्रवक्ता गिरीले जानकारी दिए । यदि चैत १२ वा १३ गतेभित्र सरकार गठन सम्पन्न भयो भने चैत १५ गते प्रतिनिधिसभाको पहिलो बैठक बस्न सक्ने गिरीले जानकारी दिए ।