काठमाडौं । भारतीय घरपरिवारसँग ठूलो मात्रामा सुन सञ्चित छ । गत वर्ष अक्टोबरमा मोर्गन स्ट्यान्लीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उनीहरूसँग ३४ हजार टनभन्दा बढी सुन छ र कोटाक महिन्द्रा बैंकले यसको मूल्य करिब ५ ट्रिलियन डलर आँकलन गरेको छ ।
यही विशाल सञ्चिति अहिले भारतमा सबैभन्दा छिटो बढिरहेको ऋण क्षेत्रमध्ये एकलाई अघि बढाइरहेको छ । अन्य उपभोक्ता ऋणहरू सुस्ताउँदा सुन धितो ऋण तीव्र रूपमा बढेको छ । यसको पछाडि असुरक्षित ऋणमा कडाइ गरिएको बैंकिङ नियम, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तीव्र वृद्धि, पहुँचमा सुधार र सम्भवतः घरपरिवारमा बढ्दो आर्थिक दबाबजस्ता कारण छन् ।
श्रिपद जाधवका अनुसार भारतीय घरपरिवारको करिब ९० प्रतिशत सुन अझै प्रयोगविहीन अवस्थामा छ । तर अब सुन धितो ऋणले खुद्रा ऋण बजारको संरचना नै परिवर्तन गर्न थालेको छ, जसले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई पनि आकर्षित गरिरहेको छ ।
विश्वव्यापी निजी इक्विटी कम्पनी बेन क्यापिटलले सुन धितो ऋण क्षेत्रमा ठूलो लगानी गर्ने योजना बनाएको छ । उसले भारतको दोस्रो ठूलो सुन ऋण प्रदायक मनप्पुरम फाइनान्समा ४१.७ प्रतिशतसम्म हिस्सेदारी किन्ने तयारी गरेको छ ।
गत महिना रिसर्भ बैंक अफ इन्डियाले स्वीकृति दिएको यो सम्झौताले परम्परागत तर कम प्रयोग भएको सम्पत्तिमा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले अवसर देखिरहेको जनाउँछ।
गत डिसेम्बरमा जापानी वित्तीय दिग्गज एमयूएफजीले भारतीय गैर–बैंकिङ वित्तीय संस्था श्रीराम फाइनान्समा २० प्रतिशत हिस्सेदारी किन्ने घोषणा गरेको थियो, जसले सुन धितो ऋणलाई अझ विस्तार गर्ने योजना बनाएको छ ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार एक वर्षमै सुन धितो ऋण दोब्बरभन्दा बढी बढेर जनवरीमा ४ ट्रिलियन रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १.७५ ट्रिलियन रुपैयाँ थियो । अहिले यो घर र सवारीसाधन ऋणपछि सबैभन्दा ठूलो खुद्रा ऋण खण्ड बनेको छ र सबैभन्दा छिटो बढ्ने श्रेणी पनि हो ।
क्यानाडाको अल्पाइन माक्रोका उदीयमान बजार रणनीतिकार यान वाङका अनुसार भारतमा सुन ऋणको वास्तविक आकार करिब १४ ट्रिलियन रुपैयाँ हुन सक्छ । उनले भने अनुसार केन्द्रीय बैंकको तथ्यांकले सबै प्रकारका ऋण समेट्दैन ।
म्याकक्युरीको प्रतिवेदन अनुसार गैर(बैंकिङ वित्तीय कम्पनीहरू (एनबीएफसी) ले सुन ऋणको करिब ४५–५० प्रतिशत हिस्सा ओगटेका छन्, जुन केन्द्रीय बैंकको तथ्यांकमा समावेश हुँदैन ।
सुनतर्फ आकर्षण किन बढ्यो ?
२०२३ को अन्त्यमा केन्द्रीय बैंकले असुरक्षित ऋणमा कडाइ गरेपछि साना व्यवसायीहरूका लागि यस्तो ऋण पाउन कठिन भएको हाना लुच्निकाभा–शोर्शले बताइन् ।
उनका अनुसार व्यक्तिगत ऋणको वृद्धिदर ३० प्रतिशतबाट घटेर १२.२ प्रतिशतमा झरेको छ । त्यही समयमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीव्र रूपमा बढेको छ । २०२४ यता सुनको मूल्य १४० प्रतिशतभन्दा बढी बढेर प्रति औंस ५००० डलर नाघेको छ र यस वर्ष धेरै रेकर्ड बनाएको छ ।
सुनको मूल्य बढ्दा उही परिमाणको सुनबाट बढी ऋण लिन सकिने भएकाले यो अझ आकर्षक बनेको हो ।
पहिले दक्षिण भारत र अर्धसहरी क्षेत्रमा बढी लोकप्रिय रहेको सुन ऋण अहिले देशभर फैलिएको छ । मध्यम वर्गदेखि उच्च आय भएका सहरका मानिसहरूले पनि तत्काल आवश्यक खर्च पूरा गर्न सुन धितो ऋण लिन थालेका छन् ।
यसको सबैभन्दा ठूलो फाइदा मनप्पुरम फाइनान्स र अग्रणी कम्पनी मुठोट फाइनान्सले उठाएका छन् । पछिल्लो एक वर्षमा यी कम्पनीहरूको सेयर मूल्य क्रमशः २४ प्रतिशत र ४७ प्रतिशतले बढेको छ ।
श्रेय शिवानीका अनुसार धेरै एनबीएफसीहरूले ग्राहकले शाखामा प्रवेश गरेको एक घण्टाभित्रै ऋण उपलब्ध गराउन सक्छन् । राम्रो गुणस्तरको सुन भएमा कम क्रेडिट स्कोर भएका व्यक्तिले पनि कम ब्याजदरमा ऋण पाउन सक्छन् ।
यद्यपि यसले केही चिन्ता पनि बढाएको छ । परम्परागत क्रेडिट मूल्यांकनलाई बेवास्ता गरेर तीव्र रूपमा बढिरहेको यस्तो ऋणले अर्थतन्त्रमा दबाब रहेको संकेत गर्न सक्छ ।
म्याकक्युरीको प्रतिवेदनले पनि मानिसहरू आर्थिक रूपमा दबाबमा परिरहेका छन् र आम्दानी खर्चसँग तालमेल गर्न नसकिरहेको अवस्थालाई यस वृद्धिको कारण मानेको छ ।
तर श्रिपद जाधवका अनुसार सुन ऋणको वृद्धि ‘आर्थिक परिपक्वताको संकेत’ पनि हो, किनकि मानिसहरूले आफ्नो बहुमूल्य सम्पत्तिलाई प्रयोगमा ल्याएर सजिलो, छिटो र सस्तो ऋण सुविधा उपयोग गरिरहेका छन् ।