डिजिटल युगमा महिला नेतृत्वको आवश्यकता, साइबर सुरक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । साइबर सुरक्षामा महिलाको नेतृत्वदायी भूमिका सुदृढ बनाउन केन्द्रित ‘सुरक्षित डिजिटल भविष्यका लागि महिला सशक्तीकरण : साइबर सुरक्षा नेतृत्व निर्माण’ कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।

क्यान महासंघअन्तर्गतको सफ्टवेयर एन्ड सर्भिसेस कमिटीले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन तथा इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रम सिफलस्थित टेक्सस कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीमा रूपमा सम्पन्न भएको हो ।

कार्यक्रममा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डिजिटल सुरक्षासँगै महिलाको समग्र सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै साइबर सुरक्षामा महिला नेतृत्व विकास आजको प्रमुख आवश्यकता भएको बताए । उनले पछिल्ला सामाजिक घटनाक्रम सन्दर्भित गर्दै महिलाका लागि डिजिटल सुरक्षा मात्र नभई आत्मरक्षा तालिमसमेत आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रमको सुरुआतमा टेक्सस कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीका आइटी निर्देशक डा. सुमन थपलियाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी क्यान महासंघकी अध्यक्ष सुनयना घिमिरे पाण्डे तथा महासचिव चन्द्र विलास भुर्तेलले सूचना प्रविधि क्षेत्रमा महिला सहभागिता वृद्धि र नेतृत्व विकासको रणनीतिक महत्त्वबारे धारणा राखेका थिए ।

प्राविधिक सत्रअन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजा किरण बासुकलाले ‘साइबर सुरक्षाको अग्रपंक्तिमा महिलाः सुरक्षित डिजिटल भविष्यको निर्माण’ विषयमा प्रस्तुति दिँदै नीतिगत तथा संस्थागत तहमा महिला नेतृत्व आवश्यक रहेको बताइन् । इनसाइट टेक्नोलोजीका कार्यकारी निर्देशक सुमन कुमार शर्माले साइबर सुरक्षामा करियरका सम्भावना, चुनौती र महिला सहभागिता बढाउने उपायबारे प्रस्तुतीकरण गरेका थिए ।

त्यसैगरी मोनाल टेककी संस्थापक मोना न्याछ्यों श्रेष्ठले उदीयमान साइबर जोखिम, डिजिटल सुरक्षा चुनौती तथा विविधतायुक्त नेतृत्वको आवश्यकता विषयमा प्रकाश पारेकी थिइन् ।

कार्यक्रमको अन्त्यमा आयोजित प्यानल छलफलमा नेपाल बैंक लिमिटेडकी कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुख बन्दना शर्मा, रोजा किरण बासुकला, सुमन कुमार शर्मा र मोना न्याछ्यों श्रेष्ठ सहभागी रहेका थिए । छलफलमा बैंकिङ सुरक्षा, नियामक चुनौती तथा साइबर सुरक्षामा महिलाको भूमिका र सम्भावनाबारे अन्तरक्रिया गरिएको थियो ।

आयोजकका अनुसार उक्त कार्यक्रमले नेपालमा साइबर सुरक्षा जनशक्ति विकास, महिला नेतृत्व प्रवर्द्धन तथा लैङ्गिक समानता प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।    

Share News