रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सवोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महत्त्वपूर्ण आदेश जारी गरेको छ । 

अदालतले बिहीबार (आज)  उक्त पार्टीका सभापति लामिछाने जोडिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने निर्णयबारे फाइल झिकाउन आदेश दिएको हो ।

यो आदेश महान्याधिवक्ता सविता भण्डारीले अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै दिइएको हो । 

न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको कार्यालयले सबै प्रतिवादीविरुद्धको मुद्दा फिर्ता लिने भनी २ फागुनमा गरेको निर्णय पेश नभएको भन्दै उक्त निर्णय अनिवार्य रूपमा पेश गर्न आदेश दिएको छ ।

साथै इजलासले आगामी सुनुवाइका लागि ९ चैतमा पेसी तोक्दै हेर्न नमिल्ने न्यायाधीशबाहेकको इजलासमा मुद्दा पेश गर्न निर्देशन दिएको छ । आइतबारदेखि सुरु भएको सुनुवाइ तीन दिनसम्म हेर्दाहेर्दैमा राखेर निरन्तर बहस भएको थियो ।

यस मुद्दामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले रिट दायर गरेका थिए । 

रिट निवेदकहरूले महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी भएको दाबी गर्दै उक्त निर्णय बदर गर्न माग गरेका छन् ।

Share News