अहिलेको प्रधान दायित्व स्थिति सम्हाल्नु हो, राजीनामाभन्दा व्यवस्थापन आवश्यक छ : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा सम्बन्धमा उपसभापति विश्वप्रकाश शर्माले वर्तमान राजनीतिक परिस्थितिमा नैतिक जिम्मेवारीभन्दा पनि स्थितिको व्यवस्थापन प्रमुख दायित्व भएको बताएका छन् । 

शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अहिलेको समय आवेगमा निर्णय गर्नेभन्दा संस्थागत ढंगले समस्या समाधान गर्ने समय भएको स्पष्ट पारेका छन् ।

उनले आगामी बैठकमा प्रारम्भिक समीक्षा, राजीनामासम्बन्धी पत्रमाथि छलफल तथा त्यसलाई अस्वीकृत गर्ने प्रस्तावसमेत पेश हुने जानकारीसमेत दिए ।

शर्माका अनुसार पार्टीभित्र उत्पन्न परिस्थिति सम्हाल्न नेतृत्वले संयमता अपनाउन आवश्यक छ । 

‘नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक हो, तर अहिलेको प्रधान विषय नैतिक दायित्व स्थिति सम्हाल्नु हो,’ उनले  लेखेका छन् ।

शर्माले परिस्थितिको मूल्यांकन नगरी व्यक्तिलाई दोषारोपण गर्नु उचित नहुने धारणा पनि राखेका छन् । 

‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीको दोष बोकाउनु न्यायसंगत हुँदैन’ भन्दै उनले नेतृत्वप्रति लक्षित आलोचनालाई संयमित बनाउन आग्रहसमेत गरेका छन् ।

Share News