काठमाडौं । बुधबार काठमाडौंबाट खोटाङ उडेको एयर डाइनेस्टीको ९एन–एएफक्यु हेलिकप्टर दुर्घटनामा पर्यो । खोटाङको कपिलासगढी गाउँपालिकामा दुर्घटना हुँदा एक जना घाइते भए भने बाँकी सकुशल छन् । हेलिकप्टरमा पाइलट सविन थापासहित ६ जना सवार थिए ।
यसअघि २०८२ कार्त्तिक १३ गते लुक्लाबाट उडेको अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको थियो । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको हो । मानवीय क्षति भने भएको थिएन । उक्त दुर्घटनामा क्याप्टेन विवेक खड्का घाइते भएका थिए ।
नेपालमा हरेक वर्ष अझै भनौं वर्षमा तीन पटकसम्म हेलिकप्टर दुर्घटना हुने गरेको पाइएको छ । लगातारको दुर्घटनाले हेलिकप्टर उडानको सुरक्षामा समेत प्रश्न उठ्दै आएको छ । नेपालमा पहिलो हेलिकप्टर दुर्घटना सन् १९७९ मा लाङटाङमा भएको थियो, जसमा भीभीआईपी सवार हेलिकप्टर दुर्घटनामा ६ जनाको ज्यान गएको थियो । त्यसयता हालसम्म आइपुग्दा ९८ जनाले गुमाइसकेका छन् भने हेलिकप्टर दुर्घटना भइसकेका छन् ।
पछिल्लो १० वर्षमा हेलिकप्टर दुर्घटनाको तथ्यांक
नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२३ मा सबैभन्दा धेरै ४ वटा हेलिकप्टर दुर्घटना भएका थिए । त्यसअघि सन् २०१८ मा ३ वटा दुर्घटना भएका थिए । पछिल्लो १० वर्षमा मात्रै नेपालमा १२ वटा हेलिकप्टर दुर्घटना भएका छन् । सो अवधिमा हेलिकप्टर दुर्घटनामा परी ३२ जनाले ज्यान गुमाइसकेका छन् ।
सन् २०१६ अर्थात २०७२ चैत्र ४ गते रसुवाको लाङटाङमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । निर्माण सामग्री बोकेर गएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटना हुँदा मानवीय क्षति भने भएको थिएन ।
त्यसैगरी, २०७३ साउन २४ गते नुवाकोटको बेतिनीमा फिस्टेलको हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भयो । गोरखाबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको फिस्टेल एयर नाइन एन एकेए कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको थियो ।
सन् २०१६ पछि सन् २०१८ मा नेपालमा ३ वटा हेलिकप्टर दुर्घटना भएको देखिन्छ । विंस २०७३ को असार १६ गते सिम्रिक एयरको हेलिकप्टर धापसीस्थिति ग्रान्डी अस्पतालको छतमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको थियो । उक्त हेलिकप्टर दुर्घटनामा मानवीय क्षति भने हुन सकेन । त्यसको एक महिनापछि (२०७५ साउन २९) गते हुम्लाको हिस्लासमा मनाङ एयरको होलिकोप्टर भएको थियो । उक्त दुर्घटना एक जना भारतीय नागरिकको मृत्यु भएको थियो ।
२०७५ भदौ २३ मा अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मैलुङमा दुर्घटना परेको थियो । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको एक महिनापछि अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी ६ जनाको घटनास्थलमै ज्यान गएको थियो ।
२०७५ फागुन २५ गते ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको थियो । कलसाइन एसफाइभ ३५ हेलिकोप्टर दुर्घटना हुँदा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु थियो ।
हेलिकोप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको निधन भएको थियो ।
२०७६ वैशाख १ गते लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना भयो । विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २ जनाले ज्यान गुमाएका थिए ।
त्यसैगरी, २०७९ चैत्र २५ गते ह्याम्स अस्पतालमा डाइनेस्टी एयरको हेलिकप्टर दुर्घटना भयो । अस्पतालको छतमा अवतरणको क्रमममा हेलिकप्टर दुर्घटना भएको हो । उक्त दुर्घटनाम मानवीय क्षति भने भएको थिएन ।
त्यसकै भोलिपल्ट अर्थात चैत्र २६ गते म्याग्दीको धौलागिरि बेस क्याम्प नजिकै एभरेष्ट एयर हेलिकप्टर दुर्घटना भयो । हेलिकप्टर दुर्घटनामा पाइलटप्रिया अधिकारी सामान्य घाइते भएकी थिइन् ।
उक्त दुर्घटनाको झण्डै एक महिनापछि २०८० वैशाख २२ गते संखुवासभाको मकालु–वरुण क्षेत्रमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको थियो । अपर अरुण जलविद्युत आयोजनाका लागि सामान ढुवानी गर्दै आएको ९एन–एजेजेड, एएस ३५० बी थ्री ई हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा एक स्थानीय सहयोगीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए ।
२०८० असार २६ गते मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा ६ जनाका मृत्यु भएको थियो । सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।
२०८१ साउन २३ गते नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टर दुर्घटना भएको थियो । रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टर बेपत्ता भएको हो । उक्त हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो । जसमा चार पुरुष र एक महिला । मृत्यु हुनेमा पाइलट अरुण मल्ल र ४ चिनियाँ नागरिक थिए ।
२०८२ कार्तिक १३ गते लुक्लाबाट उडेको अल्टिच्युड एयरको हेलिकप्टर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा दुर्घटना परेको हो । मानवीय क्षति भने भएको थिएन । उक्त दुर्घटनामा क्याप्टेन विवेक खड्का घाइते भएका थिए ।
त्यसको पाँच महिनापछि अर्थात २०८२ चैत्र ४ गते एयर डाइनेस्टीको ९एन–एएफक्यु हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट खोटाङ उडेको हेलिकप्टर केपिलासगढीमा दुर्घटना भएको हो । उक्त हेलिकप्टरमा क्याप्नेटसहित ६ जना सवार थिए । एक जना घाइते भएका छन् ।
हेलिकप्टर दुर्घटनाको कारण
हेलिकप्टर दुर्घटनापछि गठन भएका अधिकांश छानबिन आयोगले नेपालको कठिन भौगोलिक अवस्थिति, छिनछिनमा परिवर्तन हुने मौसम र मौसम तथा भूगोलको परवाह नगरी उडान गर्ने पाइलटको प्रवृत्तिलाई मुख्य कारण ठहर्याउने गरेका छन् ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले हेलिकप्टर दुर्घटनाको एउटै निश्चित कारण नहुने बताउँछन् । हेलिकप्टर दुर्घटना कुनै एक कारणले मात्रै नहुने र हरेक घटनामा फरक–फरक कारण रहने उनको भनाइ छ । उनका अनुसार दुर्घटना न्यूनीकरणका लागि सुरक्षाका मापदण्डहरू पछिल्लो समय उल्लेखनीय रूपमा कडा बनाइएको छ । तैपनि बारम्बार दुर्घटना भइरहनुमा उनले चिन्ता व्यक्त गरेका छन् ।
उनले मौसमलाई दुर्घटनाको एक महत्त्वपूर्ण कारणका रूपमा औंल्याउँदै खराब मौसमका कारण जोखिम बढ्ने बताए । तर, सधैं मौसमकै कारणले मात्र दुर्घटना हुने अवस्था भने नरहेको उनको स्पष्ट भनाइ छ ।
नागरिक उड्ययन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुल पनि नेपालमा हेलिकप्टर दुर्घटनाको एउटै कारण नहुने तर्क गर्छन् । उनका अनुसार हालसम्मको तथ्याङ्कले नेपालमा बढी दुर्घटना टेकअफ र ल्याण्डिङको क्रममा हुने गरेका छन् ।
प्रायः दुर्घटना पाइलटले सही निर्णय लिन नसक्दा हुने गरेको उनले बताए । ल्याण्डिङ गर्दा उपयुक्त ठाउँको मूल्याङ्कन नगर्नु वा समयमै निर्णय गर्न नसक्नु दुर्घटनाको मूख्य कारण हो, सूचना अधिकारी भुल भन्छन्, ‘नेपालमा अधिकांश दुर्घटना मानवीय त्रुटीका कारण भएको देखिन्छ, त्यसपछि बाँकी मौसम र प्राविधिक कारणले हुने गरेको छ ।’
वायु सेवा सञ्चालक संघका अध्यक्ष पाण्डेले वायुसेवा कम्पनीहरूले नियमित रूपमा पाइलट तथा प्राविधिक जनशक्तिलाई तालिम दिँदै आएको बताए । पाण्डेका अनुसार सुरक्षा सुधारका प्रयास भइरहे पनि दुर्घटनालाई पूर्ण रूपमा रोक्न भने चुनौतीपूर्ण रहेको छ । ‘हामीले सुरक्षा उपायहरू निरन्तर सुदृढ गर्दै आएका छौँ, तर पनि कहिलेकाहीँ दुर्घटना हभवितव्यका रूपमा हुन्छ,’ उनले भने ।
क्यानका सूचना अधिकारी भुलका अनुसार क्यानले आफ्नो मापदण्डअनुसार राष्ट्रिय सुरक्षा कार्यक्रम र स्ट्यान्डर्ड सेफ्टी कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत प्रत्येक वायुसेवा कम्पनीमा सेफ्टी म्यानेजर तोकिएको हुन्छ, जसले सेफ्टी म्यानेजमेन्ट सिस्टमअन्तर्गत काम गर्छ । त्यसैगरी क्वालिटी म्यानेजर कम्पनीको गुणस्तर निरीक्षण गर्छ भने क्यामो म्यानेजरले उपकरणको मर्मतसम्भार सुनिश्चित गर्छ ।
उनका अनुसार प्राधिकरणले कम्पनीको सुरक्षा अभ्यास र प्रक्रियामा नियमित अडिट गर्दै आएको छ । यद्यपि, प्राइमरी लेभलमा पाइलट र कम्पनीको भूमिका महत्त्वपूर्ण हुने भुलले बताए ।