काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नैतिकताका आधारमा दिएको राजीनामालाई पार्टीका अधिकांश केन्द्रीय सदस्यहरूले अस्वीकार गर्नुपर्ने धारणा राखेका छन् ।
शुक्रबार आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने सदस्यहरूले पार्टीको वर्तमान परिस्थितिलाई सम्हाल्दै अघि बढ्न थापाकै नेतृत्व आवश्यक रहेको बताएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले सभापति थापाको राजीनामा विधिवत रूपमा बैठकमा पेस भएको र त्यसमाथि छलफल जारी रहेको जानकारी दिए ।
‘सभापतिज्यूले नैतिकताको कुरा उठाएर राजीनामा दिनुभएको हो, तर बैठकमा धारणा राख्ने बहुसंख्यक साथीहरूले अहिलेको परिस्थितिमा राजीनामा स्वीकृत गर्न नहुने बताइरहनुभएको छ,’ उनले भने ।
‘पार्टीलाई पुनर्निर्माण गर्ने र थप जिम्मेवारी लिएर अघि बढ्ने समय भएकाले उहाँको निरन्तरता आवश्यक रहेको साथीहरूको तर्क छ,’ उनले थपे ।
प्रवक्ता चालिसेले हालै सम्पन्न निर्वाचनको परिणामलाई सभापति थापाको व्यक्तिगत कमजोरीसँग जोड्न नहुने दाबी गरे । निर्वाचनको नतिजा लामो समयदेखिका विभिन्न परिस्थितिको उपज भएको उनको तर्क छ ।
‘निर्वाचनको परिणाम कुनै एक व्यक्तिसँग मात्र जोडिएको विषय होइन,’ चालिसेले भने ।
‘सभापतिले नेतृत्व सम्हालेको मात्र ५० दिन भएको थियो । ५० दिनको छोटो समयमा गरिएको मेहनत मात्र पर्याप्त नभएकाले यस्तो नतिजा आएको हो,’ उनले थपे ।
जारी केन्द्रीय समिति बैठकमा बाँकी सदस्यहरूले धारणा राख्ने क्रम अझै बाँकी रहेको र बैठक केही दिनसम्म चल्ने कांग्रेसले जनाएको छ ।