नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा चिनियाँ कम्पनीलाई, जेठ अन्तिम सातादेखि गाडी गुड्ने

काठमाडौं । मुलुककै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा सुरुङमार्ग सञ्चालन र व्यवस्थापनको अन्यौल हटेको छ । प्राविधिक र आर्थिक मूल्यांकनमा बाजी मार्दै चिनियाँ सरकारी कम्पनी चोङक्विङ युसिन रोड एण्ड ब्रिज्ड डेभलपमेन्ट र नेपाली कम्पनी एआरटी कन्स्ट्रक्सन (युसिन-एआरटी जेभी) ले यसको जिम्मेवारी पाउने भएको हो ।

सुरुङमार्ग सञ्चालनका लागि आह्वान गरिएको टेन्डरमा सहभागी १० कम्पनीमध्ये ७ वटा प्राविधिक रूपमा योग्य ठहरिएका थिए । तीमध्ये सबैभन्दा कम १ अर्ब १० करोड रुपैयाँ प्रस्ताव गरेपछि युसिन-एआरटी जेभीले आगामी ५ वर्षका लागि सञ्चालनको ठेक्का पाउने भएको हो । आयोजनाले आगामी एक साताभित्रै यसको औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।

५ वर्षसम्म २४ सै घण्टा सेवा, १५० जनशक्ति परिचालन हुने सुरुङमार्ग सञ्चालनको जिम्मा पाउने कम्पनीले साधारण मर्मतसम्भार मात्र नभई उच्च स्तरको व्यवस्थापन गर्नुपर्नेछ । सम्झौताअनुसार कम्पनीले सुरुङमार्ग प्रयोग गर्ने सवारीबाट शुल्क उठाउने, सुरुङभित्र सवारीको चाप र गति नियन्त्रण गर्ने, आगलागी, दुर्घटना वा प्राविधिक गडबडी हुँदा तत्काल उद्धारका लागि ‘रेस्क्यु टोली’ तयारी अवस्थामा राख्ने, सुरुङभित्रको प्रकाश, भेन्टिलेसन र सिभिल संरचनाको रेखदेख गर्नेलगायतका काम गर्नेछ । 

सुरुङमार्गलाई सुरक्षित र व्यवस्थित बनाउन १५० जना दक्ष जनशक्ति परिचालन गरिने आयोजनाले जनाएको छ । जसमा सुरक्षा व्यवस्थापनमा ६४ जना, टोल उठाउन ५४ जना र बाँकी प्राविधिक तथा प्रशासनिक कर्मचारी रहनेछन् । निर्माण कार्य ९८ प्रतिशत सकिइसके पनि सुरुङमार्ग सञ्चालनमा आउन अझै केही समय लाग्ने देखिएको छ । ठेक्का सम्झौता भएपछि कम्पनीले जनशक्ति छनोट गर्ने, उनीहरूलाई तालिम दिने र केही समय परीक्षण गर्नेछ ।

आयोजना स्रोतका अनुसार आगामी जेठको अन्तिम सातासम्म सुरुङमार्ग औपचारिक रूपमा सर्वसाधारणका लागि खुला हुने लक्ष्य राखिएको छ । अहिले धादिङतर्फको टोल प्लाजा निर्माण र पहिरो नियन्त्रणको केही बाँकी काम धमाधम भइरहेको छ । 

सुरुङमार्ग सञ्चालनका लागि वार्षिक करिब ३० करोड रुपैयाँ खर्च हुने अनुमान छ, जुन नेपाल सरकारले नै बेहोर्नेछ । सुरुङमार्ग प्रयोग गरेबापत संकलन हुने टोल भने सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ ।

चिनियाँ सरकारी स्वामित्वको यो कम्पनी सन् १९९८ मा स्थापना भएको पूर्वाधार विज्ञ कम्पनी हो । नेपाली साझेदार कम्पनीसँगको सहकार्यमा यसले नेपालमा अन्तर्राष्ट्रिय स्तरको सुरुङमार्ग व्यवस्थापनको अनुभव भित्र्याउने अपेक्षा गरिएको छ ।

सञ्चालनका लागि चिटिक्क बन्यो देशकै पहिलो सुरुङमार्ग {भिडियो स्टोरी}

नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि ७ निर्माण कम्पनी योग्य ठहरिए, वैशाखमा ट्रायल

Share News