काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ । साथै कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी र मधेस प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।