काठमाडौं । भारतले लिपुलेक हुँदै भारत–चीन व्यापार गर्ने भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार नेपालको विरोधका बीच पनि भारत र चीनले व्यापार मार्ग खुलाउने सहमति गरेका हुन् ।
भारतले यो व्यापार मार्ग जुन १ देखि सुरु गर्ने घोषणा गरेको हो । यो मार्ग पाँच वर्षदेखि बन्द थियो । व्यापार बन्द हुँदा धेरै व्यापारीले ठूलो क्षति बेहोर्नु परेको गुनासो गर्दै आइरहेका थिए ।
भारतको विदेश मन्त्रालयले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) जारी गरेपछि यो व्यापार पुनः सुरु हुन लागेको हो ।
लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको भूमि हो । यसअघि नेपाली भूमि लिपुलेक हुँदै जाने व्यापार मार्गका विषयमा आफूलाई नसोधी भारत र चीनले सम्झौता गर्दा नेपालले विरोध गरेको थियो ।
नेपालले लिपुलेक लिम्पियाधुरासहितको नक्सा पनि पारित गरेर सार्वजनिक गरेको थियो । त्यो नक्सालाई भारतले स्वीकार गरिसकेको छैन ।