काठमाडौं । पूर्व-पश्चिम राजमार्गको मुटु मानिने दाउन्ने-नारायणगढ-बुटवल सडकखण्डको ८० प्रतिशत काम सम्पन्न भएको छ । नारायणगढ बुटवल सडकखण्डका अनुसार अब दाउन्ने खण्डमा मात्र ३.२ किलोमिटर सडकको रि-पेभमेन्ट (कालोपत्रे गर्ने तयारी) काम बाँकी छ ।
आयोजनाका अनुसार ९ वटा ठूला पुल र १९ वटा साना पुलहरूको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छ ।
जेठ महिनाको दोस्रो हप्तासम्ममा यो काम पनि सम्पन्न हुने र त्यसपछि दाउन्नेको यात्रा पूर्ण रूपमा सहज र सुरक्षित हुने आयोजनाको भनाइ छ ।
कुल ८.३ अर्ब रुपैयाँको लगानीमा सञ्चालित यो गौरवको आयोजनामा हालसम्म करिब ६ अर्ब रुपैयाँ (७६ प्रतिशत) खर्च भइसकेको छ । सडकको कालोपत्रेसँगै ट्राफिक सेफ्टी र रोड मार्किङका कामहरूलाई पनि समानान्तर रूपमा अगाडि बढाइएको छ ।
सडकखण्डमा यतिबेला यात्रीहरूले सास्ती खेपिरहेका छन् । विगत तीन दिनदेखिको वर्षाका कारण सडक हिलो र चिप्लो हुँदा यातायात सञ्चालनमा केही कठिनाइ देखिएको छ ।
गत शुक्रबार देखिको झरीले दाउन्ने बजार क्षेत्रको सडकलाई हिलो र चिप्लो बनाएपछि सवारी साधनहरू ढिलो गुड्न बाध्य भएको नारायणगढ बुटवल सडक आयोजनाले जनाएको छ ।
विशेष गरी मालवाहक ट्रकहरूलाई उकालो काट्न कठिन भएपछि अहिले उक्त क्षेत्रमा वान-वे (एकतर्फी) ट्राफिक सञ्चालन गरिएको निर्माण आयोजनाका सूचना अधिकारी विकास खनालले बताए ।
साना सवारी साधनहरूलाई प्राथमिकताका साथ पास गराइए पनि ठूला गाडीहरूलाई ट्राफिकको अवस्था हेरेर मात्र पालैपालो छोड्ने गरिएको उनको भनाइ छ ।
खनालका अनुसार हिलो पन्छाउने र ड्राई ग्राभेल हाल्ने काम तीव्र पारिएको छ । ‘मौसमले साथ दिएमा आज साँझसम्म सडकलाई थप सहज बनाउने हाम्रो लक्ष्य छ,’ खनालले भने ।
यस्तै, हिउँदे वर्षा रोकिए पनि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट लेदो माटो बग्ने क्रम नरोकिँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।
दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर आसपास क्षेत्रमा सडक हिलो र चिप्लो हुँदा सवारीसाधन उकालो चढ्न नसकेर बीच बाटोमै फसिरहेको प्रहरी उपरीक्षक खड्काको भनाइ छ ।
‘पानी रोकिए पनि सडक सुधार हुनसकेको छैन, हिलो र लेदोका कारण सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ,’ उनले भने, ‘पूर्वबाट पश्चिम जाने सवारीसाधन उकालोमा चिप्लिएकाले सञ्चालन हुन सकेका छैनन् भने पश्चिमबाट पूर्वतर्फ जाने सवारी भने केही मात्रामा सञ्चालन भइरहेका छन् ।’
वर्षातको समयमा साना गाडी र अत्यावश्यक सवारीलाई समस्या नहोस् भन्नका लागि निर्माण कम्पनी र ट्राफिक प्रहरीको टोलीले समन्वय गरिरहेका छन् । निर्माण कार्य सम्पन्न हुन अब केही हप्ता मात्र बाँकी रहेकाले यात्रीहरूलाई धैर्य गर्न र ट्राफिक नियमको पालना गर्न आयोजनाले अनुरोध गरेको छ ।