काठमाडौं । आम निर्वाचन २०८२ को परिणाम सार्वजनिक भएसँगै मुलुकको राजनीतिक ध्यान सरकार गठनतर्फ केन्द्रित भएको छ ।
स्पष्ट बहुमतसहित सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठनको तयारी तीव्र पारेको हो । दलका शीर्ष नेताहरूबीच निरन्तर छलफल भइरहेकाले १३ गते सरकार गठनका लागि औपचारिक दाबी प्रस्तुत गर्ने तयारी भइरहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
यससँगै दलभित्र संसदीय दलको नेता चयन, मन्त्रिपरिषद् गठनको ढाँचा र सरकारका प्राथमिकता निर्धारणजस्ता विषयमा आन्तरिक छलफल तीव्र बनेको उनले बताए ।
पार्टीभित्रको सहमतिअनुसार संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन) चयन हुने लगभग निश्चित देखिएसँगै उनी प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ ।
महामन्त्री बुर्लाकोटीका अनुसार सभापति रवि लामिछाने र वरिष्ठ नेतासहितको टिम मन्त्रीहरूको नामावलीलाई अन्तिमस्वरूप दिन बैठकमा बसिरहेका छन् । बुर्लाकोटीले ११ देखि १६ सदस्यीय मन्त्रिपरिषदको तयारी रहेको जानकारी दिए ।
संविधानको धारा ७६ को उपधारा १ मा प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त दलका नेताले सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्न पाउने व्यवस्था छ । सोही प्रावधानअनुसार रास्वपाले आवश्यक प्रक्रिया पूरा गरी राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने तयारी गरिरहेको बुर्लाकोटीले बताए ।
यसबीचमा सम्भावित मन्त्रिपरिषद् गठनबारे पनि विभिन्न अड्कलबाजीहरू सुरु भएका छन् । रास्वपाले स्वच्छ छवि भएका र कार्यक्षमता देखाएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्दै नयाँ अनुहारसहितको मन्त्रिपरिषद् बनाउने दावी गर्दै आएको छ।
पार्टीभित्र टेक्नोक्र्याट र युवा नेतृत्वलाई अवसर दिने विषयमा पनि छलफल भइरहेको नेताहरूले बताएका छन् । समावेशितालाई ध्यानमा राख्दै महिला, मधेशी, आदिवासी जनजाति तथा पिछडिएका क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने विषय पनि एजेण्डामा रहेको महामन्त्री बुर्लाकोटीको दाबी छ ।