छुट्टै बैठक बोलाउने तयारीमा देउवा पक्ष, होटलमा के भयो छलफल ?

काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाउन शेरबहादुर देउवा पक्ष सक्रिय बनेको छ । देउवा पक्षले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठकको तयारी गरिरहेको बुझिएको छ । 

आइतबार (आज) धुम्बाराहीस्थित एक होटलमा बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय समिति बैठक डाक्ने निर्णय गरेको हो । 

निवर्तमान कार्यसमितिका प्रवक्ता डा. प्रकाश शरण महतका अनुसार पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्न विभिन्न तरिकाले छलफल भइरहेको छ । ‘ती छलफलहरुले आवश्यक ठाने केन्द्रीय समिति बैठक पनि बोलाउन सकिन्छ,’ डा. महतले भने ।

उनका अनुसार बैठक बोलाउने जिम्मेवारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ । आवश्यकताका आधारमा बैठकको मिति, समय र स्थानबारे शीर्ष नेताहरूसँगको परामर्शपछि तय गरिनेछ ।

पार्टीभित्र जारी विवादका कारण नेतृत्व संरचना अझै स्पष्ट हुन नसकेको अवस्थामा देउवा समूहले आन्तरिक छलफललाई अघि बढाउन खोजेको देखिन्छ । गत पुस अन्तिममा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भए पनि सो प्रक्रिया अस्वीकार गर्दै देउवा पक्ष अदालत पुगेको छ ।

उक्त विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतले चैत्र २२ गते पेशी तोकेको छ । अदालतको निर्णय नआएसम्म औपचारिक रूपमा कुनै ठोस कदम चाल्न नहुने निष्कर्षमा नेताहरु पुगेका छन् ।

विशेष महाधिवेशनअघि तत्कालीन सभापति शेरबहादुर देउवाले उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पेका थिए । अहिले सोही व्यवस्थाअनुसार पार्टीका नियमित गतिविधि सञ्चालन भइरहेका छन् । अदालतको फैसला अनुसार के गर्ने भनेर तयारी र छलफल चलिरहेको डा. महतले बताए । 

Share News