२१ ठाउँमा अन्तर्घात भएर पराजित भइयो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षामा पार्टीभित्रकै अन्तर्घातका कारण धेरै निर्वाचन क्षेत्रमा हार बेहोर्नुपरेको निष्कर्ष निकालेको छ । केन्द्रीय समितिको जारी बैठकमा प्रस्तुत प्रारम्भिक विश्लेषणअनुसार कम्तिमा दुई दर्जन नजिकका क्षेत्रमा आन्तरिक असहयोग निर्णायक कारक बनेको देखिएको हो ।

पार्टी प्रवक्ता देवराज चालिसेले सानो मतान्तरले गुमाइएका क्षेत्रहरूमा संगठनभित्रको असन्तुष्टि र समन्वय अभाव प्रमुख कारणका रूपमा देखिएको बताए । उनका अनुसार ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रमा आन्तरिक असहयोग नै मुख्य जिम्मेवार रहेको निष्कर्ष पार्टीले निकालेको छ । 

कांग्रेसले पराजय भोगेका २१ निर्वाचन क्षेत्रमा आन्तरीक असहयोगकै कारण पार्टीका उम्मेदवारहरु पराजित भएको चालिसेले जानकारी दिए ।

३ हजारदेखि ५ हजारसम्मको मतान्तरमा पराजित भएका क्षेत्रमा आन्तरिक मतभिन्नतासँगै चुनावी अभियानको प्रभावकारितामा कमी देखिएको उनले उल्लेख गरे । 

अझ ठूलो, ५ हजारदेखि १० हजारसम्मको अन्तरले हारिएका स्थानहरूमा भने अन्तर्घात, कमजोर चुनावी रणनीति र विपक्षीले निर्माण गरेको प्रतिकूल न्यारेटिभले कांग्रेसले पराजय भोगेको हो चालिसेले बताए । 
 

Share News