काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी वीक २०२६ को अवसरमा ‘स्मार्ट मनी टक्स’ कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले वित्तीय साक्षरता विद्यालय तहदेखि नै आवश्यक रहेको बताएका छन् । उनले पैसाको उचित व्यवस्थापन र व्यवस्थित प्रयोगबारे सचेतना बढाउन सके प्रत्येक व्यक्तिले उपलब्ध स्रोतको सदुपयोग गर्दै अधिक लाभ लिन सक्ने उल्लेख गरे ।
उनले युवा तथा विद्यार्थीहरूले वित्तीय क्षेत्रसम्बन्धी ज्ञान बढाउनुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्रिय वाणिज्य बैंकले वित्तीय साक्षरता अभियानलाई निरन्तर अघि बढाउँदै आएको बताए । बढ्दो सूचना प्रविधिको प्रयोगसँगै वित्तीय क्षेत्रमा चुनौती पनि थपिँदै गएको उल्लेख गर्दै उनले देशव्यापी रूपमा सचेतनामूलक कार्यक्रम विस्तार गर्नुपर्ने धारणा राखे ।
प्रमुख कार्यकारी अधिकृत खनालले अपरिचित व्यक्ति वा नम्बरबाट आउने फोन, एसएमएस तथा सामाजिक सञ्जालमार्फत प्राप्त हुने शंकास्पद लिंक नखोल्न र ‘सित्तैमा पैसा’ दिने प्रलोभनमा नपर्न सबैलाई आग्रह गरे । सुरुवातमा सानो लाभ देखाएर पछि ठूलो रकम माग्ने ठगी प्रवृत्तिबाट सचेत रहन उनले सुझाव दिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले वित्तीय साक्षरताको सुरुवात विद्यालयबाट हुँदै घरघरमा विस्तार हुनुपर्ने आवश्यकता औँल्याए ।
बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद भट्ट, बैंकका उपकार्यकारी अधिकृतहरू विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल र रामकुमार थापा तथा विभागीय प्रमुखहरू आनन्द सुवेदी, सचिन कुमार श्रेष्ठ र विभागीय उपप्रमुख उभार पाण्डे सहभागी थिए ।
राष्ट्रिय वाणिज्य बैंकले ग्लोबल मनी वीकका अवसरमा देशव्यापी रूपमा वित्तीय साक्षरता तथा सामाजिक–सामुदायिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । ग्लोबल मनी वीक प्रत्येक वर्ष मार्च १६ देखि २२ तारिखसम्म विश्वभर मनाइन्छ ।