काठमाडौं । नेपाली सडकमा विद्युतीय सवारी साधन (ईभी) को उपस्थिति उल्लेखनीय रूपमा बढ्न थालेको छ । चालु आर्थिक वर्षको पहिलो ८ महिना (साउनदेखि फागुनसम्म) को तथ्यांकले नेपालमा ईभी प्रतिको आकर्षण लहरकै रूपमा देखिएको हो ।
भन्सार विभागले आइतबार (आज) सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार फागुन मसान्तसम्म देशभर ६ हजार ३ सय ९८ वटा विद्युतीय कार, जीप र भ्यान भित्रिएका छन् । जसमा २ वटा अन–एसेम्बल (जडान नगरिएका) गाडी समेत समावेश छन् ।
विद्युतीय गाडीको आयात बढ्दै जाँदा राज्यको ढुकुटीमा पनि उल्लेख्य योगदान पुगेको छ । विभागका अनुसार फागुनसम्म १४ अर्ब ९६ करोड १ लाख २७ हजार रुपैयाँ बराबरका ईभी आयात भएका छन् । यसरी ठुलो मात्रामा गाडी भित्रिँदा सरकारले ९ अर्ब ११ करोड ९ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
अघिल्लो महिना माघसम्म ५ हजार ८ सय ९६ वटा ईभी भित्रिएका थिए । फागुन महिनामा मात्र थप ५ सय २ वटा ईभी नेपाल भित्रिएका हुन्, जसले बजारमा ईभीको माग स्थिर र उच्च रहेको देखाउँछ ।
नेपाली बजारमा मध्यम क्षमताका विद्युतीय गाडीको माग सबैभन्दा बढी देखिएको छ । विशेषगरी ५१ देखि १०० किलोवाट क्षमताका ईभी नेपाली उपभोक्ताको पहिलो रोजाइमा परेका छन् । जसमा ५० किलोवाटसम्मका २ हजार १९८ वटा ईभी आयात भएका छन् भने ५१ देखि १०० किलोवाटसम्मका ३ हजार ६७२ वटा अर्थात् सबैभन्दा धेरै आयात भएका छन् । यस्तै, १०१ देखि २०० किलोवाटसम्मका ५१९ वटा, २०१ देखि ३०० किलोवाटसम्मका ७ वटा तथा अन-एसेम्बल (५० किलोवाट) का २ वटा आयात भएका छन् ।
ठुला ईभीसँगै तीन पाङ्ग्रे विद्युतीय सवारीको आयात बढ्दै गएको छ । तथ्याङ्क अनुसार फागुन महिनासम्म ६ हजार १५ वटा तीन पाङ्ग्रे ईभी नेपाल भित्रिएका छन् । यसको आयात मूल्य ६५ करोड ५९ लाख ७५ हजार रुपैयाँ रहेको छ । विशेषगरी तराईका क्षेत्रमा ई–रिक्सा र तीन पाङ्ग्रे ईभीको प्रयोग बढ्दो छ ।
वातावरणमैत्री, न्यून सञ्चालन खर्च र सरकारले भन्सार महसुलमा दिएको सहुलियतका कारण सर्वसाधारणदेखि व्यवसायीसम्मको रोजाइमा ईभी पर्न थालेको हुन् । चार्जिङ स्टेशनको विस्तार र बैंकहरूको सहज फाइनान्सिङ सुविधाले पनि ईभी आयात उकालोतिर लागेको अटो व्यवसायीहरू बताउँछन् ।