काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘स्मार्ट मनी टक्स : बचत, मनी टक्स’ भन्ने नारासहित बैंकले चैत्र २ देखि ८ गतेसम्म सातै प्रदेशका विभिन्न ४४ स्थानमा विद्यार्थी तथा युवालाई लक्षित कार्यक्रम आयोजना गरेको हो ।
बैंकका अनुसार आयोजित कार्यक्रममार्फत विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल ठगीसम्बन्धी सचेतना तथा आधारभूत बैंकिङ र वित्तीय अवधारणाबारे जानकारी प्रदान गरिएको थियो ।
उक्त कार्यक्रम कोशी प्रदेशका इटहरी, भोजपुर, विराटनगर, बिर्तामोड, इलाम, दमक र फिदिम लगायतका स्थानमा सञ्चालन गरिएको थियो भने मधेश प्रदेशका सिमरा, बर्दिबास, वीरगञ्ज, चन्द्रनिगाहापुर, राजगढ र जनकपुरमा पनि कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । त्यसैगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सहरहरूमा समेत कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममार्फत देशभर ३ हजारभन्दा बढी विद्यार्थी तथा युवाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको बैंकले जनाएको छ ।
नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका देशभर १०२ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।
बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्दै युवापुस्तालाई जिम्मेवार आर्थिक व्यवहारतर्फ अभिमुख गराउने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ ।