काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै कम्तीमा २१ निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय बेहोर्नुपरेको निष्कर्स निकालेको छ ।
पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रारम्भिक विश्लेषणले धेरै नजिकका प्रतिस्पर्धात्मक क्षेत्रमा आन्तरिक असहयोग निर्णायक बनेको औंल्याएको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार सानो मतान्तरले गुमाइएका क्षेत्रमा संगठनभित्रको असन्तुष्टि, समन्वय अभाव र अन्तर्घात प्रमुख कारणका रूपमा देखिएका छन् ।
उनले ५ सय देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका अधिकांश क्षेत्रमा आन्तरिक असहयोग नै निर्णायक बनेको जानकारी दिए ।
बैठकमा नेताहरूले ताप्लेजुङ, ओखलढुंगा, धनुषा–१ र सिन्धुपाल्चोक–२ लगायतका क्षेत्रमा अन्तर्घातका कारण उम्मेदवारहरू पराजित भएको बताएका थिए । त्यस्तै, स्याङ्जा–२, दार्चुला र बैतडीमा पनि पार्टीभित्रकै असहयोगका कारण परिणाम प्रभावित भएको विषय केन्द्रीय सदस्यहरूले बैठकमा उठाएका थिए ।
डडेलधुरा, संखुवासभा, धनकुटा र भोजपुरमा समेत उम्मेदवारहरूको हारमा अन्तर्घात प्रमुख कारण रहेको उक्त क्षेत्रका केन्द्रीय सदस्यहरूले बैठकमा बताएको एक केन्दीय सदस्यले बताएका थिए । यद्यपि बैठकमा औपचारिक रूपमा ११ निर्वाचन क्षेत्रको मात्रै विस्तृत समीक्षा भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
प्रवक्ता चालिसेले भने समग्रमा २१ निर्वाचन क्षेत्रमा अन्तर्घातका कारण पराजय भएको निष्कर्ष पार्टीले निकालेको बताएका थिए ।
उनका अनुसार ३ हजारदेखि ५ हजारसम्मको मतान्तरमा हारिएका क्षेत्रमा आन्तरिक मतभिन्नतासँगै चुनावी अभियानको प्रभावकारितामा कमी देखिएको हो ।
त्यसैगरी, ५ हजारदेखि १० हजारसम्मको मतान्तरले पराजित भएका क्षेत्रमा भने अन्तर्घातसँगै कमजोर चुनावी रणनीति र विपक्षी दलहरूले निर्माण गरेको प्रतिकूल राजनीतिक न्यारेटिभले काँग्रेसलाई असर पारेको विश्लेषण गरिएको प्रवक्ता चालिसेले जानकारी दिए।