‘स्मार्ट मनी टक्स’ अभियानमार्फत प्रभु बैंकले बढायो वित्तीय साक्षरता

काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘स्मार्ट मनी टक्स’ भन्ने मूल नारासहित ग्लोबल मनी वीक–२०२६ अन्तर्गत देशका विभिन्न स्थानमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले २०८२ चैत २ गतेदेखि सुरु गरेको साताव्यापी अभियान चैत ८ गते सम्पन्न भएको हो ।

बैंकले सातै प्रदेशमा रहेका आफ्ना २०० भन्दा बढी शाखामार्फत वित्तीय साक्षरता, बालबालिका तथा युवालक्षित चेतनामूलक कार्यक्रम र प्रभातफेरी आयोजना गरी अभियान सञ्चालन गरेको जनाएको छ । कार्यक्रमअन्तर्गत समुदाय, महिला, विद्यार्थी तथा युवाहरूलाई आधुनिक बैंकिङ, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ सेवा तथा सुरक्षित वित्तीय कारोबारसम्बन्धी जानकारी प्रदान गरिएको थियो ।

बैंकले डिजिटल बैंकिङ प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे पनि सचेतना फैलाएको छ । अज्ञात स्रोतबाट आएका लिंक नखोल्न, संवेदनशील व्यक्तिगत विवरण साझा नगर्न तथा डिजिटल ठगीबाट सुरक्षित रहन सम्बन्धी सूचना बैंकले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत समेत प्रवाह गर्दै आएको जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रम विस्तार गरेको हो ।

अभियानअन्तर्गत बागमती प्रदेशका ४७, गण्डकीका ५२, लुम्बिनीका १६, कोशीका ३९, मधेशका २९, कर्णालीका १४ र सुदूरपश्चिमका १९ शाखामार्फत कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालय, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान भइरहेको छ । ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै आएको जनाएको छ ।   

Share News