काठमाडौं । नेपालमा भएको इन्धन अभावकाबीच त्यसको विकल्पको विषयमा छलफल भइरहेको छ । मध्यपूर्वमा बढ्दै गएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उत्तारचढाव आएसँगै नेपालमा पनि सवारी भाडा बढ्ने र इन्धनमा कोटा वा जोर-बिजोर प्रणाली लागु हुने चर्चा बढ्न थालेको हो ।
यद्यपि, सम्बन्धित सरकारी निकायका उच्च अधिकारीहरूले भने तत्कालै भाडा नबढ्ने र जोर–बिजोर प्रणाली अहिले नै लागु गर्ने कुनै योजना नरहेको बताएका छन् ।
केही देशहरूमा सरकारी तथा ठूला निजी संसस्थाहरुलाई आलोपालो काम गराउने तथा अतिआवश्यक नभएका कर्मचारीलाई घरबाट काम गर्न भनिएको छ । तर, नेपालमा भने तत्काल यस्तो अवस्था नरहेको सरकारी अधिकारीहरुको भनाइ छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले बजारमा भाडा बढ्ने हल्ला चले पनि तत्काल त्यस्तो सम्भावना नरहेको बताएका छन् ।
‘मन्त्रालयले अहिले नै भाडा बढाउने कुनै अनुमति दिएको छैन,’ शर्माले भने, ‘मध्यपूर्वको तनावले केही अन्योल सिर्जना गरे पनि तत्काल निर्णय भइसकेको छैन । ’
यस्तै, यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेश राईले विभागले भाडा समायोजनका विषयमा एउटा प्रतिवेदन मन्त्रालयमा पठाएको जानकारी दिए । उनका अनुसार विभागले आफ्नो तर्फबाट प्रतिवेदन बुझाइसकेको र अबको निर्णय मन्त्रालय स्तरको छलफलपछि मात्रै हुने धारणा राखे ।
‘हामीले प्रतिवेदन पठाएका छौं, मन्त्रालयले के गर्छ, त्यो निर्णय आएपछि मात्र थाहा हुन्छ,’ राईले भने । इन्धन संकट हुनसक्ने भन्दै सवारी साधनमा जोर–विजोर प्रणाली लागु हुने चर्चाका विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र भुसालले यो विषय क्याबिनेटमा समेत चर्चा भएको बताए ।
‘यदि युद्ध लम्बिएर स्थिति असामान्य भएमा मात्र यस्ता विकल्पमा जान सकिन्छ, तर अहिले नै केही भन्न मिल्ने अवस्था छैन,’ भुसाल भने ।
आयल निगमका प्रवक्ता मनोज ठाकुरले पनि जोर–विजोर प्रणालीलाई तत्कालको योजना नभई एउटा विकल्प मात्र भएको स्पष्ट पारे । अन्य मुलुकहरूको अभ्यासलाई हेरेर नेपालमा पनि संकट परेको खण्डमा के गर्न सकिन्छ भन्ने सन्दर्भमा मात्र यसको चर्चा भएको उनको तर्क छ ।
निगमका प्रवक्ता ठाकुरका अनुसार नेपालमा इन्धनको आपूर्ति र खपत अहिले पूर्णतः सामान्य छ । भारतबाट हुने आयातमा कुनै अवरोध नभएको र माग अनुसारकै इन्धन भित्रिरहेको उनले जानकारी दिए ।
ठाकुरका अनुसार नेपालभरको दैनिक पेट्रोल २ हजार देखि २५ सय किलो लिटर खपत भइरहेको छ । जसमा काठमाडौं उपत्यकामा मात्रै करिब ८०० किलो लिटर पेट्रोल खपत भइरहेको छ ।
यस्तै, डिजेल ४ हजार ५०० देखि ५ हजार किलो लिटर खपत भइरहेको उनले विकासन्युजसँग बताए । काठमाडौं उपत्यकामा करिब ७५० देखि ८०० किलो लिटर खपत भइरहेको छ ।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेर त्यहाँका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनेईलगायत उच्च नेतृत्वको हत्या गरेपछि खाडी क्षेत्र युद्धको रणमैदान बन्न पुगेको छ । फेब्रुअरी २८ देखि सुरु भएको आक्रमण र प्रत्याक्रमणको शृंखला बढ्दै जाँदा विश्वको तेल र ग्यास ढुवानीका लागिमहत्वपूर्ण मानिने मार्ग ‘स्ट्रेट अफ हर्मुज’ सम्म पुगेको छ । आफूमाथि आक्रमण भएपछि इरानले यो जलमार्ग हुँदै चल्ने पानीजहाजमाथि हमला गर्दा अहिले आपूर्ति प्रभावित मात्रै भएको छैन्, ठप्प नै बनेको छ । यसको असर नेपाली उपभोक्तालाई पनि परेको छ ।
जबकी सरकारले उपभोक्तालाई आधा सिलिन्डर मात्रै बिक्री गर्न निर्देशन दिइसकेको छ । इन्धन आपूर्ति घटेसँगै उच्च खपत हुने होटल क्षेत्र, सवारीसाधन, उद्योगलगायत क्षेत्रमा अभाव हुन थालेको छ । सरकारी अधिकारीहरूले सर्वसाधारणलाई हल्लाको पछि नलाग्न र आपूर्ति व्यवस्था सहज रहेकाले अनावश्यक सञ्चय नगर्न समेत आग्रह गरेका छन् ।
वैश्विक परिस्थितिलाई नियालिरहेको सरकारले संकट आएको खण्डमा मात्रै वैकल्पिक कदम चाल्ने संकेत दिएको छ । तर, यो तनाव अझै जारी रहने देखिएको छ ।