काठमाडौं । 'स्मार्ट मनी टक्स' भन्ने मूल नाराका साथ मार्च १६ देखि सुरु भएको ग्लोबल मनी वीक २०२६ विश्वभर मनाइएको अवसरमा सिद्धार्थ क्यापिटल लिमिटेडले नेपालका विभिन्न सहरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रमअन्तर्गत कक्षा १२ तथा स्नातक तहमा अध्ययनरत युवा विद्यार्थीहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । सिद्धार्थ क्यापिटलले काठमाडौं, नेपालगञ्ज, विराटनगर, बुटवल, नारायणगढ र पोखरालगायत स्थानमा कार्यक्रम सञ्चालन गरेको हो ।
काठमाडौंस्थित मृगसिरा वर्ल्ड स्कूल, विराटनगर इन्टरनेशनल कलेज, नारायणगढको वीरेन्द्र बहुमुखी क्याम्पस तथा नेपालगञ्ज बहुमुखी क्याम्पसमा सिद्धार्थ क्यापिटलको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको थियो । त्यस्तै बुटवलको मणिमुकुन्द कलेज र पोखराको प्रतिभा माध्यमिक विद्यालयमा सिद्धार्थ बैंक लिमिटेडको सहकार्यमा विद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरिएको जनाइएको छ ।
वित्तीय पहुँच विस्तार तथा दिगो आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले सञ्चालन गरिएका यस्ता कार्यक्रमले युवा पुस्तालाई जिम्मेवार वित्तीय निर्णय लिन प्रेरित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । ग्लोबल मनी वीक २०२६ मार्च २२ मा सम्पन्न भएको थियो ।