काठमाडौं । अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ । अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहान ९:५५ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
मस्तिष्कघात भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको पार्थिव शरीरको अन्त्येष्टि भोलि मंगलबार गरिने जनाइएको छ । आचार्यका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत रहेका आचार्यले पछिल्लो समय मुलुकको वित्तीय अवस्था र आर्थिक सुशासनका विषयमा सक्रिय बहस तथा पैरवी गर्दै आएका थिए । उनले लामो समयसम्म राष्ट्र बैंकमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए ।
उनी अर्थतन्त्रका समसामयिक मुद्दा, आर्थिक नीति तथा विकास योजनाबारे विश्लेषण र टिप्पणी गर्ने विज्ञका रूपमा चिनिन्थे । नेपालका आर्थिक चुनौती, सम्भावना र सुधारका उपायबारे उनले आफ्ना धारणा तथा लेखमार्फत निरन्तर योगदान दिँदै आएका थिए ।