फरक क्षमता भएका व्यक्तिलाई वित्तीय ज्ञानसँग जोड्दै सांग्रिला बैंक

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले फरक क्षमता भएका व्यक्तिहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल वहिरा संघसँगको समन्वयमा चैत ८ गते काठमाडौंमा आयोजित कार्यक्रममा ४० जना फरक क्षमता भएका व्यक्तिको सहभागिता रहेको बैंकले जनाएको छ । कार्यक्रममा प्रशिक्षक विनोद नरसिंह श्रेष्ठले आम्दानी व्यवस्थापन, बचत, वित्तीय सुरक्षा, बैंकिङ कारोबार, डिजिटल साक्षरता, स्मार्ट मनि, लगानी, प्रतिफल तथा जोखिम व्यवस्थापनलगायत विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सांकेतिक भाषा दोभाषे उमा पौडेल र प्रकाश महर्जनले सहजीकरण गरेका थिए ।

कार्यक्रमको समापनमा राष्ट्रिय वहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले कार्यक्रम निकै उपयोगी भएको उल्लेख गर्दै आर्थिक क्षेत्रसम्बन्धी विभिन्न तालिम सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरिरहेको जानकारी दिए ।

सांग्रिला डेभलपमेन्ट बैंकले आम नागरिकको विश्वासका आधारमा हाल देशभर १०९ शाखा कार्यालय तथा ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ गर्दै आगामी दिनमा सेवा विस्तारलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।   

Share News