काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचन २०८२ को निराशाजनक परिणामपछि पार्टीभित्र व्यापक समीक्षा र रूपान्तरणको बहस सुरु गरेका छन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को अन्तिम परिणाम सार्वजनिक भएसँगै एमालेले अपेक्षाकृत कमजोर प्रदर्शन गरेपछि भट्टराईले देश तथा प्रवासमा रहेका कार्यकर्ता, बुद्धिजीवी र समर्थकहरूसँग प्रत्यक्ष सुझाव मागेका हुन् ।
उनले सार्वजनिक अपिल जारी गर्दै एमाले जस्तो लोकप्रिय र सुदृढ संगठन भएको पार्टी किन कमजोर अवस्थामा पुग्यो भन्ने विषयमा वस्तुनिष्ठ समीक्षा आवश्यक रहेको बताएका छन् । समीक्षा आग्रहभन्दा माथि उठेर हुनुपर्ने उनको भनाइ छ ।
भट्टराईले पार्टीको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्प आवश्यक रहेको औंल्याएका छन् ।
उनले समीक्षामार्फत जिम्मेवारी किटान र जवाफदेहिताको प्रश्न समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले सुझावका लागि तीन प्रमुख विषय पनि अघि सारेका छन् । उनले निर्वाचनमा कमजोर परिणाम आउनुका आन्तरिक र बाह्य कारणहरूसमेत माग गरेका छन् ।
एमालेका सबल, कमजोर पक्ष र भविष्यको सम्भावनाबारे समेत उपमहासचिव भट्टराईले सुझाव माग गरेका हुन् ।