काठमाडौं । कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले नागरिकको जीवन सहज बनाउनुपर्ने भएकाले मंगलबार ९ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको छ ।
गत शनिबार २ बजेदेखि र सोमबार १ बजेदेखि जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा तोकिएको थियो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार महाराजगंज नगरपालिका २ बर्गदामा भएको घटनालाई मध्यनजर गर्दै जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा लगाइएको थियो ।
निषेधाज्ञा लाग्ने गरेर के भएको थियो ?
शनिबार बिहान महाराजगञ्ज नगरपालिकाको बर्गदामा दुई समुदायबीच धार्मिक विषयलाई लिएर विवाद हुँदा स्थिति उग्र बनेको थियो । मस्जिदमा नमाज पढिरहेको समयमा नजिकै रहेको काली मन्दिरमा चर्को स्वरमा भजन बजाएको भन्दै दुई पक्षबीच झडप भएको थियो । स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले दिउँसो २ बजेदेखि सो क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो ।
नमाज पढिरहेका समूहले मन्दिरमा गएर तार चुँडाएका र मुर्ति तोडफोड गरेका थिए । मन्दिर तोडफोड गरेपछि दुवै समुदायहरू दोहोरो झडपमा उत्रिएका थिए ।