कोलम्बियामा सेनाको विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु

काठमाडौं । कोलम्बियामा सेनाको विमान दुर्घटना हँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । 

कोलम्बियाका अधिकारीहरूका अनुसार देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको हो ।

वायु सेनाका कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले जानकारी दिएअनुसार विमानमा सेनाका ११४ जवान र ११ जना क्रू सदस्य सवार थिए । यो अमेरिका निर्मित सी- १३० हरक्युलिस विमान थियो, जसको प्रयोग सैनिकहरूको आवतजावतका लागि गरिन्छ ।

यो विमान पुटुमायो प्रान्तको पुएर्तो लेगुइजामो सहर नजिक दुर्घटनाग्रस्त भएको हो । घटनास्थलमा पठाइएका आपतकालीन उद्धारकर्मीहरूले विमानको भग्नावशेषमा जीवित बचेकाहरूको खोजी गरिरहेका छन् ।

कोलम्बियाका रक्षामन्त्री पेद्रो सान्चेजले  पेरू सीमाना नजिक भएको यस घटनालाई ‘देशका लागि अत्यन्त दुःखद’ भएको बताएका छन् । सान्चेजले पछि जानकारी दिँदै विमानमा आगलागी भएपछि त्यसभित्र रहेको गोलाबारुद विस्फोट भएको बताएका छन्।

एक सैन्य स्रोतले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार दुर्घटनामा कुल ६६ जनाको मृत्यु भएको छ ।

यो घटना कोलम्बियाली वायु सेनाको हालैको इतिहासकै सबैभन्दा घातक दुर्घटनामध्ये एक हो । स्थानीय सञ्चारमाध्यमहरूले घाइते सैनिकहरूलाई स्थानीय बासिन्दाहरूले साना मोटरसाइकलमार्फत अस्पताल पुर्याइरहेको दृश्य पनि देखाएका छन् ।

राष्ट्रपति गुस्ताभो पेत्रोले एक्समा लेखेका छन्, ‘यो भयानक दुर्घटना हुनु हुँदैनथ्यो ।’

यद्यपि, उनले दुर्घटनाको कारण स्पष्ट गरेका छैनन् ।

सेनाले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत जनाएको छ, ‘पुएर्तो लेगुइजामोमा भएको हरक्युलिस विमान दुर्घटनापछि घाइतेहरूको सहयोगका लागि हाम्रा सैनिकहरू घटनास्थलमा पुगेका छन् ।’

सेनाले आफ्नो पोस्टमा विभिन्न तस्वीरहरू सार्वजनिक गर्दै घाइतेहरूलाई विशेष उपचारका लागि सारिँदै गरेको जानकारी दिएको छ ।

सेनाले भनेको छ, ‘हामी सम्पूर्ण कोलम्बियाली जनताको एकता र उद्धार, सुरक्षा तथा राहत कार्यमा सहयोग गर्ने संस्थाहरू प्रति कृतज्ञ छौं ।’

यसैबीच, समाचार एजेन्सी रोयटर्सले अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ कि सोमबार कोलम्बियाली वायु सेनाको एउटा विमान, जसमा १२५ जना सवार थिए, देशको दक्षिणी अमेजन क्षेत्रमा उडान भरेलगत्तै दुर्घटनाग्रस्त भएको हो ।’
 

Share News