काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा होमाबीच जापानी कस्मेटिक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टको बिक्री वितरणका लागि सहकार्यको थालनी भएको छ ।
अबदेखि जापानी स्किन केयर तथा कस्मेटिक आयातकर्ता होमाद्वारा नेपाली बजारमा आयात तथा बिक्री वितरण गरिने सम्पूर्ण उत्पादनहरू भाटभटेनी सुपरमार्केटमा उपलब्ध हुने भएका हुन् । होक्काइदो बिजनेस ग्रुप नेपालअन्तर्गतको होमाले सन् २०२३ देखि आधिकारिक रूपमा जापानी कस्मेटिक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टहरू नेपाली बजारमा भित्र्याएको हो ।
भाटभटेनी सुपरमार्केटका कलंकी, पाटन, सातदोबाटो, भक्तपुर, महाराजगञ्ज, कोटेश्वर तथा टोखा गरी सात स्थानबाट अफरसहित जापानी उत्पादनको गुणस्तर र यसले आम जनताको स्किन हेल्थमा पार्ने सकारात्मक प्रभावसम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्दै आधिकारिक बिक्री वितरणको सुरुवात गरिएको हो ।
चैत १० गतेबाट सुरु गरिएका विभिन्न सचेतनामूलक कार्यक्रमहरूमा सहभागी हुने होमा तथा भाटभटेनीका ग्राहकहरूले होमाबाट विभिन्न अफरहरू, छुट, क्यास कुपन तथा फ्रि गिफ्ट प्राप्त गर्न सक्नेछन् । यसका लागि भाटभटेनीमा रहेका होमा सेन्टर तथा भाटभटेनीका कस्टमर सर्भिस डेस्कमा ग्राहकहरूले सम्पर्क राख्नुपर्नेछ ।
चैत १० गतेदेखि २० दिनका लागि सञ्चालन हुने यस कार्यक्रममा सहभागी हुनेमध्ये १४ जना भाग्यशाली ग्राहकले जनही रु ५ हजार बराबरका होमाका उत्पादन जित्न सक्नेछन् भने सहभागी प्रत्येक ग्राहकले होमामा प्रयोग गर्न सकिने २० प्रतिशत छुटको गिफ्ट भौचरसमेत प्राप्त गर्नेछन् । साथै होमाले आयात गर्ने एस–सेलेक्ट, टी–थ्री र जेटोक्क किड्स ब्रान्डका उत्पादनहरू उपहारस्वरूप प्रदान गरिनेछ ।
यस अवधिमा भाटभटेनी सुपरमार्केटमा गएर होमाका उत्पादनहरू खरिद गर्ने ग्राहकहरूले हरेक ३ हजार रुपैयाँको खरिदमा १ हजार रुपैयाँ बराबरको गिफ्ट भौचर प्राप्त गर्नेछन्, जसको प्रयोग डेकाइदो बुढानीलकण्ठमा डाइनिङ गर्दा वा होमाका कुनै पनि सामग्री खरिद गर्दा गर्न सकिनेछ ।
'नेपाली ग्राहकलाई जापानी उत्पादनको गुणस्तरीयताको अनुभूति दिलाउनु होमाको पहिलो लक्ष्य हो,' कम्पनीका अध्यक्ष अर्जुन अधिकारी भन्छन्, 'लामो समय जापान बसेर त्यहाँका उत्पादनको गुणस्तरीयताको मापदण्ड र त्यसले जापानीहरूको स्वास्थ्यमा पारेको सकारात्मक प्रभाव बुझेपछि मलाई नेपालमा त्यस्ता प्रिमियम उत्पादन ल्याउने इच्छा जाग्यो । अनि यो सम्भव भएको हो ।'
उनी अगाडि भन्छन्, 'होमा नेपाली बजारमा जापानी उत्पादनको आयातकर्ता बन्ने मात्र होइन, भविष्यमा जापानी ब्रान्डका लागि नेपाली उत्पादकसमेत बनेर निर्यात गर्ने लक्ष्य राखेको छ । हामीले नेपालमा हजारौँ रोजगारी सिर्जनाको खाका कोरेका छौँ, जसको यो सुरुवात हो ।'
बीस दिनसम्म चल्ने यो सचेतनामूलक कार्यक्रमले जापानी हेल्थ एण्ड ब्युटी केयर प्रोडक्टप्रति नेपाली उपभोक्ताको थप चासो विकास हुने अपेक्षा गरिएको छ ।