काठमाडौं । चलचित्र ‘तेल भिसा’का निर्माता पक्राउ परेका छन् । ठगीको आरोपमा निर्माता शिवराज कार्कीलाई स्वयम्भूबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए ।
वैदेशिक रोजगारीमा लैजाने भन्दै विभिन्न व्यक्तिसँग पैसा लिएर ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
खड्काका अनुसार वैदेशिक रोजगारबाट कार्कीविरुद्ध ६ वटा पक्राउ पुर्जी जारी भएको थियो । उनले कन्सल्टेन्सीबाट समेत विभिन्न व्यक्तिलाई ठगी गरेका थिए ।
काठमाडौं उपत्यका अनुसन्धानको कार्यालयमा कार्कीविरुद्ध २ सयमा भन्दा बढी पीडितले उजुरी दिएका थिए । ‘२ करोड ५० लाख भन्दा बढी ठगी गरेको भनेर कार्यालयमा उजुरी परेको थियो,’ खड्काले भने ।
यसअघि अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोपमा तेल भिसा निर्माता तथा निर्देशकविरूद्ध पनि प्रहरीमा उजुरी परेको थियो ।