सिद्धार्थ बैंकका ५१ कार्यक्रममार्फत २६४९ विद्यार्थी लाभान्वित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्यले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले मार्च १६ देखि २२, २०२६ सम्म सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गरी अभियान सम्पन्न गरेको जनाएको छ ।

‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित मनाइएको यस वर्षको अभियान अन्तर्गत बैंकले सातै प्रदेशका विद्यालय तथा क्याम्पस गरी ३८ स्थानमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा बैंकिङ सेवा, डिजिटल कारोबार तथा त्यसमा अपनाउनुपर्ने सावधानीबारे जानकारी प्रदान गरिएको थियो ।

विद्यार्थीहरूमा वित्तीय ज्ञान, सीप, सकारात्मक मनोवृत्ति तथा व्यवहार विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा २ हजार १७१ जना विद्यार्थी सहभागी भएका थिए । साथै, बैंकिङ प्रणालीको व्यवहारिक ज्ञान प्रदान गर्न ४७८ विद्यार्थीलाई बैंकका विभिन्न शाखाहरूमा भ्रमण गराइएको बैंकले जनाएको छ ।

ग्लोबल मनी वीक अवधिभर बैंकले कुल ५१ वटा कार्यक्रममार्फत २ हजार ६४९ विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरेको जनाएको छ । सप्ताहभर बैंकले सामाजिक सञ्जालमार्फत दैनिक रूपमा जानकारीमूलक सामग्री प्रकाशन गर्दै वित्तीय सचेतना विस्तार गर्ने प्रयास पनि गरेको थियो ।

देशका सबै वर्ग, क्षेत्र र समुदायसम्म वित्तीय सेवाको पहुँच विस्तार गर्दै सर्वसाधारणलाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यअनुसार सञ्चालन गरिएका कार्यक्रमहरूले ग्लोबल मनी वीकका मूल उद्देश्य हासिल गर्न सकारात्मक योगदान पुगेको बैंकको विश्वास छ ।  

Share News