काठमाडौं । महिला उद्यमी महासंघ नेपाल (FWEAN) ले नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ आयोजना गर्ने भएको छ । महिला उद्यमशीलताको प्रवर्द्धन, बजार पहुँच विस्तार तथा आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।
महासंघले विगत २३ वर्षदेखि महिला उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही अभियानअन्तर्गत आगामी चैत २० देखि २२ गते (अप्रिल ३–५, २०२६) ललितपुरस्थित हेरिटेज गार्डेनमा तीनदिने व्यापार मेला आयोजना गरिनेछ ।
मेलामा देशका विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रका महिला उद्यमीका उत्पादनहरू प्रदर्शन तथा बिक्री गरिनेछ । हस्तकला, प्राकृतिक रेसाजन्य सामग्री, कृषि उत्पादन, खाद्य परिकार, कपडा, घरेलु सामग्रीलगायत विभिन्न उत्पादनहरू प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । साथै अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको समेत सहभागिता रहनेछ ।
महिला उद्यमीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, व्यवसायिक नेटवर्क विस्तार गर्ने तथा ज्ञान, अनुभव र सीप आदान–प्रदान गर्ने अवसर सिर्जना गर्ने उद्देश्य मेलाले राखेको छ । मेलामा करिब १४० स्टल रहने र सातै प्रदेशका महिला उद्यमीहरूको सहभागिता रहने जनाइएको छ ।
मेलाको आकर्षणका रूपमा र्याम्प वाक, प्यानल छलफल, बी–टु–बी अन्तरक्रिया, कार्यशाला, डिजिटलाइजेशन तालिम तथा प्राकृतिक फाइबर अर्थतन्त्रसम्बन्धी विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछन् । साथै ‘Enterprising Women Nepal’ पुस्तकको १४औँ संस्करण पनि सोही अवसरमा सार्वजनिक गरिनेछ ।
आयोजकका अनुसार मेलामा करिब दुई करोड रुपैयाँ बराबरको कारोबार हुने तथा ५० हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।