१.२ अर्ब डलर सम्पत्तिका साथ अष्ट्रेलियाका शीर्ष धनाढ्यको सूचीमा शेष घले दम्पत्ति

काठमाडौं । नेपाली मूलका उद्यमी शेष घले र जमुना गुरुङ सन् २०२६ मा पनि अष्ट्रेलियाका धनी व्यक्तिहरूको सूचीमा परेका छन् । द अष्ट्रेलियनले सार्वजनिक गरेको सूचीअनुसार उनीहरू धनाढ्यको क्रमशः १५०औं र १५१औं स्थानमा छन् । सन् २००९ मा पहिलोपटक शीर्ष २५० भित्र परेका यो दम्पतीले लगातार १८ वर्षसम्म सूचीमा आफ्नो स्थान कायम राखेका छन् । 

मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका सह–संस्थापक घले–गुरुङको संयुक्त सम्पत्ति करिब १ अर्ब २१ करोड डलर पुगेको बताइएको छ । १९९० को दशकमा अष्ट्रेलिया पुगेका उनीहरूले सन् १९९६ मा स्थापना गरेको एमआईटी अहिले मेलबर्न र सिड्नीमा क्याम्पससहित अन्तर्राष्ट्रिय विद्यार्थीका लागि प्रमुख निजी शैक्षिक संस्थामध्ये एक बनेको छ ।

शिक्षासँगै उनीहरू घरजग्गा क्षेत्रमा पनि सक्रिय छन् । मेलबर्नका विभिन्न व्यावसायिक सम्पत्तिमा लगानी गरेका उनीहरूले केही भवनलाई पुनःविकास गर्दै लक्जरी होटल र सर्भिस अपार्टमेन्ट निर्माण गर्ने योजना अघि सारेका छन् । 

घले–गुरुङले शिक्षा र सामुदायिक क्षेत्रमा योगदान दिँदै नेपाल र विदेशमा होटल व्यवसाय विस्तार गरिरहेका छन् । साथै, शेष घले गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष समेत हुन् । 
 

Share News