सुजुकी ई–भिटाराको बुकिङ खुला, सुरुवाती मूल्य ५० लाख

काठमाडौं । सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले आफ्नो पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक गाडी ‘सुजुकी ई–भिटारा’ को नेपालमा आधिकारिक रूपमा बुकिङ खुला गरेको छ । 

पोखरामा आयोजित ‘वाडा अटो शो’ को अवसर पारेर सार्वजनिक गरिएको यस गाडीको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ, जुन सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । 

जापानी इन्जिनियरिङ र विश्वसनीयताको विरासत बोकेको यो ईभीले नेपाली बजारमा विद्युतीय गाडीप्रतिको विश्वासलाई थप बलियो बनाउने लक्ष्य राखेको छ ।

विशेष गरी इलेक्ट्रिक गाडीका लागि नै तयार पारिएको हर्टइक्ट– ई प्लेटफर्ममा निर्मित यो गाडी दुईवटा ब्याट्री विकल्पमा उपलब्ध छ । यसको ४९ किलोवाट आवर ब्याट्रीले १०६ किलोवाट र ६१ किलोवाट आवर ब्याट्रीले १२८ किलोवाटको शक्तिशाली पावर उत्पादन गर्दछ । 

उत्कृष्ट प्रदर्शनका लागि यसमा इको, नर्मल र स्पोट्र्स गरी तीनवटा ड्राइभिङ मोडका साथै हिउँमा चलाउनका लागि विशेष ‘स्नो टेरेन मोड’ समेत दिइएको छ । आधुनिक प्रविधि र सुरक्षालाई प्राथमिकता दिँदै यसमा लेभल–२ एडास , ७ वटा एयरब्याग, र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता सुविधाहरू समावेश गरिएका छन्, जसले यात्रालाई सुरक्षित र भरपर्दो बनाउँछन् ।

यसको डिजाइन निकै आकर्षक र फ्युरचिस्टिक छ । बाहिरी भागमा १८ इन्चको अलोय ह्विल र मस्कुलर लुक दिइएको छ भने भित्री भागमा १०.२५ इन्चको डिजिटल इन्फोटेनमेन्ट सिस्टम, सनरुफ र भेन्टिलेटेड सिटहरूले प्रिमियम अनुभव प्रदान गर्दछन् । 

सुजुकीको देशभर फैलिएको विशाल सर्भिस नेटवर्कका कारण ग्राहकले मर्मतसम्भारमा कुनै तनाव झेल्नु नपर्ने र सन् २०३० सम्म थप ६ वटा नयाँ ईभी मोडलहरू ल्याउने योजना रहेको समेत कम्पनीले जानकारी दिएको छ ।

Share News