ललितपुर । उद्यमशीलता र नीतिनिर्माणबीचको दूरी कम गर्ने उद्देश्यले नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) ललितपुर च्याप्टरले ‘डिस्कसन टु पोलिसी: सेपिङ पोलिसी थ्रु इन्टरप्रेनर भ्वाइस’ कार्यक्रम आयोजना गरेको छ । चैत ५ गते ललितपुरस्थित हिमालयन जाभामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमी, व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपालको उद्यमशील वातावरणमा देखिएका चुनौती र सम्भावनाबारे गहन छलफल गरिएको थियो । व्यवसाय विस्तारमा रहेका नियामक जटिलता, नवउद्यमीका लागि वित्तीय पहुँचको अभाव, नवप्रवर्तनमैत्री नीति निर्माणको आवश्यकता तथा सार्वजनिक–निजी सहकार्यलाई प्रभावकारी बनाउने विषयमा सहभागीहरूले अनुभव र सुझाव प्रस्तुत गरेका थिए ।
छलफलका क्रममा उत्पादन, सेवा, प्रविधि, पर्यटन तथा हस्तकला क्षेत्रका सम्भावनाबारे चर्चा गर्दै ती क्षेत्रको विकासका लागि नीतिगत सहजीकरण, बजार पहुँच विस्तार, डिजिटलीकरण र सीप विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याइएको थियो । विशेषगरी हस्तकला क्षेत्रलाई नेपालको सांस्कृतिक पहिचानसँग जोडिएको उच्च सम्भावनायुक्त क्षेत्रका रूपमा उल्लेख गर्दै अन्तर्राष्ट्रिय बजारसँग जोड्न थप नीति समर्थन आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो ।
कार्यक्रमबाट संकलित सुझावहरूलाई सरकारसमक्ष प्रस्तुत गरिने ‘मेमोरान्डम अफ रिक्वेस्ट’ मा समेटिने आयोजकले जनाएको छ । यसमार्फत उद्यमीहरूको आवाज नीतिनिर्माण प्रक्रियामा समावेश गराउने अपेक्षा गरिएको छ ।
एनवाइइएफ ललितपुरले उद्यमशील समुदाय र नीतिनिर्माताबीच सहकार्य अभिवृद्धि गर्दै उद्यममैत्री वातावरण निर्माणमा निरन्तर पहल गर्ने प्रतिबद्धता जनाएको छ ।