हिल्टन होटलले बीमा दाबीबापतको ३ अर्ब मात्रै पाउने

काठमाडौ । गत भदौमा जेनजी प्रदर्शनका क्रममा आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त  हिल्टन होटलले बीमा दाबीबापत ३ अर्ब रुपैयाँ मात्रै पाउने भएको छ । 

होटलले ८ अर्बको दाबी गरेपनि बीमा रकम ५ अर्ब मात्रैको गरेको पाइएको छ । जसअनुसार होटलले बीमाअन्तर्गत ३ अर्ब रुपैयाँ मात्रै पाउने भएको हो ।

हिल्टन होटलको बीमा दि ओरियन्टल इन्स्यारेन्समा रहेको छ । होटलमा आगजनी भएको ७ महिना बितिसक्दा पनि कम्पनीले बीमा भुक्तानी गर्न सकेको छैन । भुक्तानी रोकिनुको मुख्य कारण दाबी विवाद हो ।

अनुसन्धानका क्रममा दि ओरियन्टल इन्स्यारेन्स र हिमालायन पुनर्बीमा कम्पनीले हिल्टनको ‘हुलदंगा तथा आतंकवाद जोखिम’ पुनर्बीमा प्रावधान विपरीत काम गरेको पाइएको छ । भर्खरै मात्रै प्राधिकरणले कारवाहीसमेत गरेको छ । यसमा एलियन्ट ब्रोकर कम्पनी पनि संलग्न रहेको पाइएपछि उक्त ब्रोकरको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरिएको छ ।

बीमा ऐनअनुसार हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बीमा सरकारी कम्पनी नेपाल रि–इन्स्योरेन्समा गर्न सकिने प्रावधान भए पनि, बीमा कम्पनी र ब्रोकरले प्राधिकरणको निर्देशन उल्लङ्घन गर्दै पुनर्बीमा हिमालयन रिमा गराउन खोजेका थिए । यसकारण नेपाल बीमा प्राधिकरणले सम्बन्धित कम्पनीहरूलाई कारबाही गरेको हो।

बीमा जानकारहरूका अनुसार पुनर्बीमा विवाद् होस् या आन्तरिक अन्य कुनै विवाद बीमितलाई दाबी दाबीबापतको भुक्तानी बीमा कम्पनीले तिर्नैपर्छ । यस अर्थमा  ओरियन्टल इन्स्याेरेन्सले जसरी पनि हिल्टन होटलको दाबी बापतको भुक्तानी गर्नुपर्ने हुन्छ । 

Share News