काठमाडौं । गत महिना इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणले मध्यपूर्वलाई संकटमा धकेलेसँगै जापानस्थित उमर अली हैदर अलीको प्रयोग भइसकेका (सेकेन्ड ह्यान्ड) सवारीसाधन व्यवसायमा पनि वाधा पुर्याएको छ ।
दुई दशकदेखि जापानमा बस्दै आएका हैदर अलीले आफ्नो जापानबाट दक्षिण एसिया, मध्यपूर्व र अफ्रिकातर्फ प्रयोग भइसकेका सवारीसाधन पठाउँदै आएका छन् । जापानका कडा नियमअनुसार नियमित निरीक्षण र मर्मतसम्भार गरिएकाले ती गाडीहरू टिकाउ र तुलनात्मक रूपमा राम्रो अवस्थामा हुने भएकाले अत्यधिक मागमा छन् ।
युद्ध सुरु भएको केही दिनपछि उनले थाहा पाए कि ५०० भन्दा बढी गाडी बोकेको एउटा जहाज समुद्रमै अड्किएको छ, दुबईबाट मोडिएको कार्गोले बन्दरगाह भरिएपछि जहाज श्रीलंकामा प्रवेश गर्न सकेको थिएन ।
‘हामीले श्रीलंकातर्फ पठाइसकेका गाडीहरू समुद्रमै रोकिएजस्तै थिए, किनकि भित्रिने ठाउँ नै थिएन,’ उनले भने ।
उनका अनुसार ती गाडीहरू अन्ततः गत साता हम्बनटोटा बन्दरगाहमा उत्रिए, जुन निर्धारित समयभन्दा १० दिनभन्दा बढी ढिलो हो ।
हैदर अलीका समस्याले देखाउँछ कि मध्यपूर्वको संकट र होर्मुज जलडमरूमध्य लगभग बन्दजस्तै हुँदा जापान र दक्षिण कोरियाका प्रयोग भइसकेका सवारीसाधन व्यापारीहरू प्रायजसो साना व्यवसायहरू निकै प्रभावित भएका छन्, यिनै साना व्यवसायीहरू मिलेर नै विश्वव्यापी ठूलो उद्योग बन्छ ।
हैदर अलीका अनुसार बन्दरगाहमा भएको भीडले केही जापानी ढुवानी कम्पनीहरूमा ‘त्रास’ सिर्जना गर्यो, जसका कारण कतिपयले ढुवानी नै रद्द गरे । अरूले कार्गो पाकिस्तान वा चीनतर्फ मोड्ने प्रस्ताव गरे । एउटा कम्पनीले प्रत्येक गाडीमा ५ हजार डलर निक्षेप माग्यो । उनका केही गाडीहरू पुनः जापान फर्किन सक्ने उनले बताए ।
उनको योकोहामा आधारित कम्पनी ‘कोबे मोटर’ ले वार्षिक करिब १८ हजार गाडी पठाउँछ । उनले विशेषगरी आफ्नो देश श्रीलंकातर्फ बढी गाडी पठाउँछन्, जहाँ साना टोयोटा र होन्डा गाडीहरू लोकप्रिय छन् । हाल उनका करिब ५० वटा प्रयोग भइसकेका लक्जरी गाडीहरू रोल्स–रोयस, ल्याम्बोर्गिनी र फरारी लगायत श्रीलंका र चीनमा उतारिएका छन्, किनकि जहाजहरू दुबई पुग्न सकेनन् ।
हैदर अलीका अनुसार केही ग्राहकका लागि हवाई ढुवानी विकल्प हुन सक्छ, तर यसको अत्यधिक लागतले गर्दा यो केवल धनी वर्गका लागि मात्र सम्भव हुनेछ ।
गत वर्ष जापान र दक्षिण कोरियाले संयुक्त रूपमा १९ अर्ब डलर बराबरका प्रयोग भइसकेका गाडी निर्यात गरेका थिए, जसमा जापानको हिस्सा आधाभन्दा बढी थियो । व्यापार तथ्यांकअनुसार दक्षिण कोरियाले निर्यात गरेका ८ लाख ८३ हजार गाडीमध्ये एक-तिहाइभन्दा बढी मध्यपूर्वतर्फ गएका थिए ।
गत वर्ष संयुक्त अरब इमिरेट्स जापानका लागि सबैभन्दा ठूलो गन्तव्य थियो, जहाँ २ लाख २४ हजार गाडी पठाइएका थिए, जुन कुल निर्यातको करिब १५ प्रतिशत रहेको अर्थ मन्त्रालयको तथ्यांकले देखाउँछ ।
इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्य दुबईमार्फत जाने ढुवानीका लागि महत्त्वपूर्ण संकुचित मार्ग हो । यदि युद्ध लम्बियो भने निर्यातकर्ताहरूले तेल र ढुवानी लागत बढ्ने, मुद्रा उतारचढाव, लिलामी मूल्य घट्ने तथा ढुवानी मार्ग कटौती हुनेजस्ता थप दबाब झेल्नुपर्नेछ ।
दक्षिण कोरियाबाट ढुवानी रोकिने अवस्था
दक्षिण कोरियामा यो द्वन्द्वका कारण प्रयोग भइसकेका गाडी व्यापारीहरूको सबैभन्दा व्यस्त मौसममै ढुवानी रोकिएको छ । सामान्यतया मार्चदेखि सेप्टेम्बरसम्म मध्यपूर्व तथा अन्य क्षेत्रहरूमा यात्रा र निर्माण गतिविधि बढ्ने भएकाले माग उच्च हुन्छ ।
ढुवानी कम्पनीका अधिकारी काङ ताए-याङले बताएअनुसार इन्चोन बन्दरगाहस्थित सवारी भण्डारण केन्द्रमा गतिविधि निकै घटेको छ । यहाँबाट सामान्यतया करिब ८० प्रतिशत गाडीहरू मध्यपूर्वतर्फ जाने गर्छन् ।
ताए-याङले हाल आफ्ना ७० प्रतिशतभन्दा बढी गाडीहरू भण्डारणमै अड्किएको जानकारी दिए । समुद्रमा रहेका केही जहाजहरूले यात्रा रोकेका छन् वा गन्तव्य परिवर्तन गरेका छन् । इन्चोनमा भण्डारण गरिएका गाडीहरू यातायात अवरोधका कारण चल्न सकेका छैनन् र जहाजमा लोड गरिएका गाडीहरू पनि निर्धारित गन्तव्यमा पुग्न सकेका छैनन् ।
केही जहाजहरूले होर्मुज जलडमरूमध्यबाट जोगिन मध्यपूर्वका वैकल्पिक स्थान वा अझ टाढाका बन्दरगाहहरूमा कार्गो उतार्ने योजना बनाएका छन् । व्यापारीहरूका अनुसार यस्तो निर्णय प्रायः ढुवानी कम्पनीहरूले गर्ने गरेका छन् र व्यापारीहरू वैकल्पिक उपायबारे छलफलमा छन् ।
‘जब युद्ध सुरु हुन्छ, हामीसँग प्रतीक्षा र रोक्ने बाहेक विकल्प हुँदैन,’ प्रयोग भइसकेका गाडी व्यापार कम्पनी अटोमोबाइल इन्टरनेशनलका अध्यक्ष जिन जे–वूङले भने ।
ह्युन्डाईको एमडी र कियाको केथ्रीजस्ता मोडेलहरू मध्यपूर्वका ग्राहकहरूबीच लोकप्रिय छन् ।
जिनका अनुसार मूल्य बढ्न सुरु हुने समयमा नै द्वन्द्व सुरु भएको हो । दक्षिण कोरियामा किनिसकेका गाडीहरू भण्डारण गर्न उनको कम्पनीले महिनामा करिब ४ करोड वोन खर्च गरिरहेको उनी बताउँछन् ।
उनले बजार सुस्त हुँदा गाडीहरू अगावै खरिद गर्ने योजना बनाएका छन् । द्वन्द्व अन्त्य भएपछि माग पुनः बढ्ने अपेक्षा उनको छ ।
केही निर्यातकर्ताहरू वैकल्पिक बजार खोजिरहेका छन्, तर विकल्प सीमित छन् । ‘तपाईं सजिलै अफ्रिका वा ल्याटिन अमेरिकातर्फ ढुवानी मोड्न सक्नुहुन्न,’ भेन्टस अटोका अध्यक्ष युन सुङ–ह्युनले भने । ती बजारहरूमा थप बिक्री सम्हाल्ने पर्याप्त माग नभएको उनले बताए ।
उनको कम्पनीले जनवरी अन्त्यतिर पठाएका कन्टेनरहरू मार्चको सुरुवातमै दुबईको जेबेल अली बन्दरगाह पुग्ने योजना थियो, तर अझै ढिलो भइरहेको छ । दक्षिण कोरियाको एचएमएम कम्पनीद्वारा सञ्चालन गरिएका जहाजहरू भारतको पश्चिमी तट नजिक मुम्बई आसपास अड्किएका छन् । तेलको मूल्य बढ्दा ढुवानी शुल्क पनि बढेको उनले बताए ।
भेन्टस अटोको वार्षिक ६.६ अर्ब वोन आम्दानीमध्ये आधाभन्दा बढी यूएईसँग जोडिएको भएकाले यो अवरोध ठूलो जोखिम बनेको छ ।
भारतमा २० प्रतिशतसम्म बढ्यो बोतलको मूल्य