‘असामान्य परिस्थितिबीच स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै यसलाई नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक उपलब्धि भएको बताएकी छन् ।

निर्वाचन सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले असामान्य र चुनौतीपूर्ण परिस्थितिका बाबजुद स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा मतदान सम्पन्न हुनु ठूलो उपलब्धि भएको उल्लेख गरिन् ।

प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि मुलुक जटिल परिस्थितिमा पुगेको स्मरण गर्दै त्यही अवस्थाबीच फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको बताइन् । 

‘त्यस विषम अवस्थालाई सामान्यीकरण गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु हाम्रो लोकतान्त्रिक प्रणालीप्रतिको प्रतिबद्धताको प्रमाण हो,’ उनले भने ।

सरकार गठन हुँदा मुख्य जिम्मेवारी नै निर्वाचन सम्पन्न गराउनु रहेको उल्लेख गर्दै उनले सुरक्षा अवस्था संवेदनशील, राजनीतिक दलहरूबीच संवादहीनता तथा कानुनी–राजनीतिक शून्यता जस्ता चुनौतीहरू रहेको बताइन् । 

‘६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता सहज थिएन, तर सरकारका सम्पूर्ण संयन्त्र त्यसमा केन्द्रित गरियो,’ उनले स्पष्ट पारिन् ।

प्रधानमन्त्रीले यस निर्वाचनमार्फत मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएको दाबी गरिन् । साथै अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै उनले यसले नेपालको लोकतान्त्रिक छवि थप सुदृढ भएको विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा प्रधानमन्त्रीले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिँदै लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवर्द्धन र समृद्ध नेपाल निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरिन् ।

प्रधानमन्त्रीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा निर्वाचन आयोगले स्पष्ट कार्ययोजना, व्यावसायिक दक्षता र दृढ इच्छाशक्तिका साथ काम गरेर सफलता हासिल गरेको बताइन् । उनले निर्वाचन आयोग, सुरक्षा निकाय तथा सम्पूर्ण सम्बद्ध पक्षको योगदानको प्रशंसा गर्दै उनीहरूलाई धन्यवादसमेत दिइन् ।

यस पटकको निर्वाचनले सुरक्षा, स्वच्छता, मितव्ययिता र समयपालनमा नयाँ मानक स्थापित गरेको दाबी गर्दै उनले मतदाता नामावलीमा निर्वाचनपछिसम्म नाम दर्ता गर्ने व्यवस्था, राष्ट्रिय परिचयपत्रसँगको अन्तरआबद्धता र स्वदेशी सामग्रीको अधिकतम प्रयोगजस्ता अभ्यासहरू उल्लेख गरे । 

‘निर्वाचन खर्च पारदर्शी बनाउन अलग बैंक खाता सञ्चालन, सामाजिक सञ्जालको निगरानी र आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको थियो,’ उनले भनिन् ।

उनका अनुसार सुदृढ सुरक्षा व्यवस्थाका कारण कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था आएन र निर्वाचनसम्बन्धी विवादहरू नगण्य रहे । यसले निर्वाचन व्यवस्थापनको उच्च स्तर प्रदर्शन भएको उनले बताइन् ।

Share News