काठमाडौं । एनआईसी एशिया बैंकले ‘ग्लोबल मनी विक २०२६’ को अवसरमा वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको छ ।
नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा आयोजित उक्त अभियानअन्तर्गत बैंकका सातै प्रदेशस्थित शाखाहरूले स्थानीय विद्यालय तथा कलेजहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका हुन् । कार्यक्रममार्फत विद्यार्थी तथा युवाहरूमा वित्तीय ज्ञान, सीप तथा सकारात्मक वित्तीय व्यवहार विकास गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार अभियानअन्तर्गत देशभर सञ्चालन गरिएका ६७ भन्दा बढी कार्यक्रममार्फत ४ हजार १ सयभन्दा बढी विद्यार्थी तथा युवाहरू लाभान्वित भएका छन् ।
यससँगै वित्तीय साक्षरता सम्बन्धी जनचेतना अझ व्यापक बनाउन बैंकले विभिन्न सूचना तथा सचेतनामूलक सामग्री तयार गरी आफ्ना सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरेको थियो ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार आयोजना गरिएका कार्यक्रमहरूले बालबालिका, विद्यार्थी तथा युवामाझ वित्तीय ज्ञान, सीप तथा जनचेतना अभिवृद्धिमा सकारात्मक योगदान पुगेको बैंकले विश्वास व्यक्त गरेको छ ।