‘स्मार्ट मनी टक्स’ नारासहित कृषि विकास बैंकको वित्तीय सचेतना अभियान

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ‘ग्लोबल मनी विक अभियान २०२६’ अन्तर्गत देशभर १५०० भन्दा बढी विद्यार्थी तथा महिला कृषि व्यवसायीलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।

मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सातै प्रदेशका सहभागीहरूलाई वित्तीय ज्ञान तथा व्यवहारिक सीप अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

विश्वभर हरेक वर्ष मनाइने ग्लोबल मनी विक यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित मनाइएको थियो । अभियानअन्तर्गत बैंकले बचत गर्ने बानीको विकास, कर्जा लगानी र त्यसको सदुपयोग, डिजिटल बैंकिङ सेवा, वित्तीय ठगीबाट बच्ने उपायलगायत विषयमा विद्यार्थी तथा युवाहरूलाई सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

बैंकका विभिन्न शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको जनाउँदै अभियानलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरतासम्बन्धी सामग्री उत्पादन तथा प्रकाशन–प्रसारणसमेत गर्दै आएको बैंकले उल्लेख गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित बैंकले सामाजिक उद्यमशीलता, विकास, रोजगारी सिर्जना तथा दिगो विकासमा योगदान पुर्याउने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

Share News