काठमाडौं । नेपाल मेडिकल काउन्सिलले काउन्सिलमा दर्ता रहेका दर्तावाला चिकित्सकहरूलाई आफू कार्यरत स्वास्थ्य संस्थामा मात्र काउन्सिलबाट प्रदान गरेको चिकित्सक दर्ता प्रमाणपत्र राख्न आग्रह गरेको छ ।
केही चिकित्सकहरू आफू संलग्न नरहेको स्वास्थ्य संस्थामा समेत काउन्सिलबाट प्रदान गरेको चिकित्सक दर्ता प्रमाणपत्र राखेको पाइएकाले त्यसो नगर्न आग्रह गरेको हो ।
काउन्सिलले आफ्ना दर्तावाल चिकित्सकहरूलाई केन्द्रित गर्दै जारी गरेको सूचनामा भनिएको छ,‘आफू संलग्न नरहेको क्लिनिक वा अस्पतालमा नाम र प्रमाणपत्र राखिँदा सर्वसाधारणमा अन्योल सिर्जना हुन सक्ने र यसले व्यावसायिक आचारसंहिता उल्लङ्घनको पत्र उठाउन सक्ने हुनाले, आफ्ना विवरणहरूको दुरुपयोग हुन नदिन र भविष्यमा आइपर्न सक्ने कानुनी वा प्रशासनिक जटिलता सिर्जना हुने हुँदा आफू कार्यरत नरहेका पुराना संस्थाहरूबाट आफ्ना विवरणहरू तुरुन्त हटाउन भनेको छ ।’
काउन्सिलले साइनबोर्ड, विज्ञापन वा दर्ता पुस्तकमा आफ्नो नाम र दर्ता नम्बरको सही प्रयोग भए, नभएको तर्फ सचेत रहन पनि आग्रह गरेको छ ।