कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग निष्पक्ष छानबिनका उद्देश्यले गठन नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कार्की आयोगको प्रतिवेदनले नै आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि गरेको दाबी गरेका छन् ।

पोखरेलले आयोगको प्रतिवेदन र निर्वाचन प्रक्रियामा प्रयोग गरिएको भनिएको ‘अल्गोरिदम’ मार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक तथा कानुनी वैधानिकता दिने प्रयास गरिएको स्पष्ट भएको उल्लेख गरेका छन् । सोही प्रयासअनुसार निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको उनको भनाइ छ ।

उनका अनुसार निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको छ । अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणमार्फत नयाँ शक्तिको उदय भएको उनले टिप्पणी गरेका छन् ।

पोखरेलले आगामी राजनीतिक यात्रा सहज नहुने उल्लेख गर्दै राष्ट्र र लोकतन्त्रले केही समय चुनौती सामना गर्नुपर्ने अवस्था आउने बताएका छन् । यस्तो अवस्थामा नयाँ शक्ति र नेतृत्वलाई आफ्नो दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु तथा जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु विवेकपूर्ण कदम हुन सक्ने उनले बताएका छन् ।

यद्यपि लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद दीर्घकालीन रूपमा समस्याको समाधान वा विचारधारात्मक राजनीतिको विकल्प हुन नसक्ने उनको धारणा छ ।   

Share News