काठमाडौं । काठमाडौं उपत्यकाभित्रका डाँडाहरूमा निर्माण भएका विशाल तथा आलिशान गुम्बाहरूको गतिविधिमा नेपाल सरकारले सूक्ष्म रूपमा निगरानी गर्नुपर्ने देखिएको गौरीबहादुर कार्की आयोगको निष्कर्ष रहेको छ ।
त्यस्तै, मदरसा तथा चर्चहरूमा भइरहेका फण्डिङ र तीव्र गतिविधिहरू पनि सुरक्षा निकायको चासोको विषय बन्नुपर्ने आयोगको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनले यी सबै गतिविधिले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने संकेततर्फ सचेत हुनसमेत भनेको छ ।
प्रतिवेदनमा यस्ता विषयलाई गुप्तचरको राडारमा ल्याउने सुझावसमेत दिइएको छ । मुलुकले आफ्नो गुप्तचर तथा निगरानी क्षमता तत्काल सुदृढ गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा औंल्याइएको छ ।
प्रतिवेदनले भदौ २३ गते संसद भवन परिसरमा घटेको घटनाले झन् चिन्ता बढाएको बताएको छ । तिब्बतीयन ओरिजिन ब्लड (टीओबी) लेखिएको ज्याकेट लगाएका मोटरसाइकल सवार युवाहरूको सक्रियताले नेपाल मात्र होइन, चीनसमेत सतर्क बनेको प्रतिवेदनमा उल्लेख छ ।
यदि छिमेकी मुलुकविरुद्ध नेपालको भूमि प्रयोग हुने अवस्था सिर्जना भयो भने त्यसले नेपाललाई गम्भीर कूटनीतिक र सुरक्षा संकटतर्फ धकेल्न सक्ने जोखिम पनि रहेको प्रतिवेदनमा उल्लेख छ ।