काठमाडौं । ग्राण्डि इन्टरनेशनल हस्पिटल, एक्टिभ उमन अफ नेपाल (एवन) र डाउन सिन्ड्रोम सोसाइटीको सहकार्यमा डाउन सिन्ड्रोम भएका बालबालिकाको हेरचाह, स्वास्थ्य तथा शिक्षासम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
ग्राण्डि इन्टरनेशनल हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको कार्यक्रममा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, एवनका सदस्य, डाउन सिन्ड्रोम सोसाइटीका प्रतिनिधि, अस्पतालका चिकित्सक, डाउन सिन्ड्रोम भएका बालबालिका तथा उनीहरूका अभिभावकको सहभागिता रहेको थियो ।
बेबी हेल्थकेयर उत्पादन क्षेत्रमा नेपाली बजारमा अग्रणी अष्ट्रेलियन ब्रान्ड आईविवीले समेत आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमलाई सहकार्य र समर्थन जनाएको थियो ।
कार्यक्रममा बोल्दै ग्राण्डि इन्टरनेशनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले डाउन सिन्ड्रोम भएका बालबालिकालाई परिवारको माया, पारिवारिक गतिविधिमा सक्रिय सहभागिता र जीवनोपयोगी सीप विकासमा ध्यान दिन सके सकारात्मक परिवर्तन सम्भव हुने बताए ।
एवनकी अध्यक्ष बाबा सरकार श्रेष्ठले डाउन सिन्ड्रोम भएका बच्चा जन्माएकै कारण आमाहरूले भोग्नुपरेको सामाजिक पीडा दुःखद भएको उल्लेख गर्दै यस विषयमा चेतना अभिवृद्धि र सामूहिक सहयोग आवश्यक रहेको बताइन् ।
उनले भनिन्, 'समाजका सबै मानिस फरक–फरक छन्, त्यसैले संसार सुन्दर छ । डाउन सिन्ड्रोम भएका बालबालिकाको फरक क्षमता पहिचान गरी त्यसलाई सम्मान र अवसर दिनुपर्छ ।'
डाउन सिन्ड्रोम सोसाइटीकी अध्यक्ष शिला थापाले आफ्नो छोरा डाउन सिन्ड्रोम भएकै कारण भोगेका अनुभव सुनाउँदै अन्य अभिभावकलाई सहयोग गर्ने उद्देश्यले संस्था स्थापना गरेको जानकारी दिइन् ।
विश्वमा जन्मने प्रत्येक ७०० बालबालिकामध्ये एक जनामा डाउन सिन्ड्रोम देखिने तथ्य प्रस्तुत गर्दै सहभागीहरूले यस्ता बालबालिकाको आवश्यकता सम्बोधन गर्न राज्यस्तरबाट आवश्यक पूर्वाधार विकास र लगानी अझै अपर्याप्त रहेको औँल्याए । पर्याप्त सहयोग अभावका कारण उनीहरू तथा परिवार सामाजिक भेदभावको सामना गर्न बाध्य भएको पनि कार्यक्रममा उल्लेख गरिएको थियो ।
कार्यक्रममा आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्युटी कुमारी सर्राफले डाउन सिन्ड्रोमसम्बन्धी सचेतना अभिवृद्धिका लागि गरिएको पहलप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।