संसद भवन भित्रबाट हानेको गोलीले गोलीगाँठो छेडेर वारपार भयो : पत्रकार दंगाल

काठमाडौं । पत्रकार शम्भु दंगालले भदौ २३ गतेको घटना हुनुको मुख्य कारण तत्कालीन सरकार प्रमुख केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ रहेको बताएका छन् ।

उनले जेनजी आयोगको जाँचबुझ छानबिन प्रतिवेदनमा यस्तो बताएको उल्लेख छ ।
 
उनले सडकमा दंगा प्रहरीको संख्या थोरै रहेको प्रतिवेदनमा बताएका छन् । संसद भवनभित्र अत्याधुनिक हतियार बोकेका सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको पनि उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘नयाँ बानेश्वर क्षेत्र अश्रुग्याँसले आँखा हेर्न र श्वास फेर्न नसकिने अवस्थामा पुगेको थियो । सुरक्षाकर्मीले अन्धाधुन्ध हानेको गोलीबाट घाइते हुने र मारिनेहरूको संख्या बढिरहेको थियो । यस्ता दृश्यहरु क्यामेराबाट छायाँकन गरिरहेको बेला अढाइ बजे नयाँ बानेश्वर संसद भवनको गेट छेउमा संसद भवन भित्रबाट सुरक्षाकर्मीले हानेको धातुको गोलीले मेरो बायाँ खुट्टामा लागेर गोलीगाँठो छेडेर वारपार भयो,’ उनले भनेका छन् ।

त्यस्तै उनले घाइतेको अस्पताल आउँदा–जाँदा हुने खर्च, बिरामीका लागि आवश्यक पर्ने अन्य सामग्रीको खर्च सरकारले नबेहोरेको पनि बताए ।

‘सरकारले निःशुल्क उपचार गर्ने भने पनि घाइतेले खाने औषधी निःशुल्क गरेको तर अस्पताल जाने आउने खर्च, बिरामीका लागि आवश्यक पर्ने अन्य आवश्यक सामग्रीको खर्च भने सरकारले बेहोरेको छैन,’ उनले भने ।

Share News