काठमाडौंमा सुन चोरी गर्ने भारतीय नागरिकसहित ५ जना पक्राउ

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित तीनथानाबाट सुनका गरगहना र मोबाइल चोरी गरी त्यसको स्वरूप परिवर्तन गर्ने कार्यमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार चोरी भएका गहना पगालिरहेको अवस्थामा एक भारतीय नागरिकसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।

गत फागुन २८ गते चन्द्रागिरि–१५ तिनथानास्थित एक घरबाट १.५ तोलाको सुनको सिक्री, १ तोलाको औँठी, आधा तोलाको झुम्का, तिलहरी, दुई थान मोबाइल र नगद ५ हजार रुपैयाँ चोरी भएको उजुरी प्रहरीमा परेको थियो । 

उक्त निवेदनका आधारमा सूक्ष्म अनुसन्धान र खोजतलास गर्दा प्रहरीले चैत १० गते काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित बागमती ड्राइभिङ सेन्टर अगाडिबाट उनीहरूलाई समात्न सफल भएको हो ।

पक्राउ पर्नेहरूमा धादिङका २२ वर्षीय प्रसन्न अधिकारी, नवलपरासी पूर्वका २८ वर्षीय प्रदीप गुरुङ, ओखलढुङ्गाका २९ वर्षीय लाक्पा शेर्पा, रसुवाका २८ वर्षीय सागर कामी र भारत महाराष्ट्रका २८ वर्षीय गौरव गुणाजी मोरे रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट चोरीका दुई थान मोबाइल, पगालेर ढिक्का बनाइएको २३.३० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र चोरीमा प्रयोग भएको बा ६६ प १७६६ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका पाँचै जनालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटमार्फत विस्तृत अनुसन्धान भइरहेको छ ।

पक्राउ परेकामध्ये भारतीय नागरिक मोरेले चोरीका गहना पगाल्ने र स्वरूप बदल्ने काममा सहयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Share News