काठमाडौं । तलव वृद्धिको माग गर्दै पटक–पटक आन्दोलन गर्दै आएका इंग्ल्याण्डका रेसिडेन्स चिकित्सकहरू फेरि आन्दोलित भएका छन् । उनीहरूले अप्रिल महिनादेखि ६ दिने हड्तालको घोषणा गरेका छन् । जुन चिकित्सकहरूको १५ औं विरोधको कार्यक्रम हुनेछ ।
ब्रिटिस मेडिकल एशोसिएसन (बीएमए) र सरकारबीचको वार्ता निष्कर्षमा नपुगेपछि चिकित्सकहरूले हड्तालको घोषणा गरेका हुन् ।
बीएमएका अनुसार सरकारले चिकित्सकहरूको तलब वृद्धि र रोजगारीका अवसर (टेर्निङ पोस्ट्स) को अभाव सम्बन्धी मागहरूलाई सम्बोधन नगरेकाले हड्ताल गर्नुपर्ने अवस्था आएको बताएका छन् । सन २०२६ सुरु भएलगत्तै सुरु भएको वार्ता महिनासम्म चलेको थियो । तर दुई महिनासम्म चलेको बैठकमा चिकित्सक र सरकारबीच कुरा नमिलेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
वार्तामा सहमति नभएको बताउँदै चिकित्सकहरूले अप्रिल ७ तारिख बिहान ७ बजेदेखि १३ तारिखसम्म हड्ताल जारी रहने जनाइएको छ ।
चिकित्सक भन्छन्, ‘हामीले हप्तौंदेखि इमानदारीपूर्वक वार्ता गरिरहेका छौं, हामी डाक्टरहरूको तलब अझै कमजोर हुने जोखिम भएको प्रस्ताव डाक्टरहरूसमक्ष राख्न सक्दैनौं । विशेषगरी यस्तो समयमा जब धेरै डाक्टरहरू बेलायत छोडेर अन्य देशतर्फ गइरहेका छन् ।’
सरकारले चिकित्सकहरूलाई यस वर्ष ३.५ प्रतिशत तलब वृद्धि गर्ने निर्णय गरेको थियो । तर चिकित्सकले यसमा सहमति जनाएनन् । यसबाहेक रेसिडेन्ट चिकित्सकले तिनुपर्ने परीक्षा शुल्क जस्ता शुल्कहरू सरकारले नै तिरिदिने, ट्रर्निङ पोष्ट (रोजगारीका अवसर) संख्या बढाउने, तलबको विभिन्न स्तर (भुक्तानी ब्याण्ड) मा छिटो बढुवा हुने अवसर दिने प्रस्ताव पनि सरकारले गरेको थियो ।
तर, चिकित्सकले सरकारको यो निर्णयले चिकित्सकलाई झन निराश बनाएको बताएका छन् । हाल त्यहाँको रेसिडेन्ट चिकित्सकको वार्षिक तलब ३९ हजार पाउण्डदेखि ७४ हजार पाउण्डसम्म छ ।
आन्दोलनरत चिकित्सकले भने अहिले प्रस्ताव गरिएको व्यवस्था लागू भएमा मुद्रास्फिति बढ्ने भएकाले चिकित्सकको वास्तविक आम्दानी अझै घट्ने खतरा रहेको बताएको छ । त्यहाँका अर्थशास्त्रीले पनि इरानमा भएको युद्धका कारण मूल्यवृद्धि बढ्न सक्ने अनुमान गरेका छन् ।
यता बेलायतका स्वास्थ्य सचिव वेस स्ट्रीटिङले बीएमएका अपेक्षाहरू उचित र यथार्थपरक सीमाभन्दा बाहिर रहेको बताएका छन् ।
उनी भन्छन्, ‘बीएमएले यो प्रस्ताव अस्वीकार गर्नु एनएचएसका बिरामी र स्वास्थ्यकर्मीहरूका लागि अत्यन्त निराशाजनक कुरा हो । सरकारले रेसिडेन्ट चिकित्सकको काम गर्ने वातावरण र करिअरको सम्भावना सुधार्ने गरी सम्भव भएसम्म सबै उपाय प्रयोग गरेर उदार प्रस्ताव अघि सारेको थियो ।’
चिकित्सकहरूको यो हड्ताल यो विवादकै सबैभन्दा लामोमध्ये एक हुनेछ । यसअघि चिकित्सकहरूले एक पटकमात्र ६ दिन लामो हड्ताल गरेका थिए ।
सरकार र चिकित्सकबीच पछिल्लो एक वर्षदेखि कहिले वार्ता हुने, कहिले रोकिने क्रम चलिरहेको छ । स्वास्थ्य सचिव वेस स्ट्रीटिङ पछिल्ला तीन वर्षमा डाक्टरहरूले करिब ३० प्रतिशत जति तलब वृद्धि पाइसकेकाले अब तलबबारे थप छलफल नगर्ने अडानमा छन् ।
तर बीएमएको तर्क भने फरक छ । उनीहरूको तलब बढेको भए पनि मुद्रास्फीति समायोजन गरेर हेर्दा अहिले रेजिडेन्ट डाक्टरहरूको तलब सन् २००८ को तुलनामा करिब पाँचौं भाग (करिब २० प्रतिशत) कम रहेको बताउँछन् ।
युनियनले अर्को समस्या पनि उठाएको छ । डाक्टरहरू तेस्रो वर्षको सुरुवातमा विशेषज्ञ तालिममा जाने बेला रोजगारीको अभाव भएको दाबी गरिएको छ । यही चरणमा डाक्टरहरूले आफू कुन क्षेत्रमा विशेषज्ञ बन्ने, जस्तै जनरल प्राक्टिस (जीपी) वा सर्जरी भन्ने छनोट गर्छन् । जहाँ गत गर्मीयाममा करिब ३० हजार जना आवेदकले आवेदन दिएका थिए जबकि उपलब्ध जागिर भने करिब १० हजार मात्र थिए । यद्यपि तीमध्ये केही आवेदन विदेशबाट आएका डाक्टरहरूको पनि थिए ।
गत वर्षको जुलाईमा चिकित्सकहरूले गरेको पाँच दिने हड्तालमा तीन सय मिलियन पाउण्ड रकम खर्च भएको अनुमान गरिएको थियो । यस्ता हडतालले बजेटमा ठूलो असर पार्ने भन्दै विज्ञहरू भने चिन्तित् बनेका छन् । उनीहरूले आर्थिक वर्ष सुरु हुनेबेलामा चिकित्सकको हड्ताल हुनुलाई निकै खराव सुरुवात भनेका छन् । चिकित्सकहरूले भने हड्ताल हुन नदिन सरकारलाई छिटो कदम चाल्न आग्रह गरेका छन् ।
यो हड्तालका कारण इंग्ल्याण्डको स्वास्थ्य सेवा प्रणालीमा व्यापक असर पर्ने अनुमान गरिएको छ । अस्पतालका नियमित सेवा, शल्यक्रिया, परीक्षण तथा उपचारमा ढिलाइ हुने जोखिम देखिएको छ । विशेषज्ञहरूका अनुसार यदि विवाद चाँडै समाधान नभए हड्ताल लम्बिन सक्ने र त्यसले बिरामी सेवामा गम्भीर प्रभाव पार्न सक्नेछ ।