काठमाडौं । छिनछिनमा विद्युत् जाने (ट्रिपिङ) र विद्युत रोकावट हुने समस्यामा गत आर्थिक वर्षको तुलनामा यस वर्ष उल्लेख्य सुधार देखिएको छ ।
नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१÷८२ को तुलनामा आव २०८२÷८३ मा सबै प्रदेश र केन्द्रमा छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध हुने (ट्रिपिङ)को सङ्ख्या र रोकावटको समय उल्लेख्य मात्रामा घटेको देखिएको हो ।
प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणसँगै प्राविधिक समस्या देखिएका ठाउँमा तत्काल गरिएको सुधारका कारण ट्रिपिङको सङ्ख्या घटेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।
उनले विद्युत् ट्रिपिङको सङ्ख्या र रोकावटको समय दुवै घट्दा त्यसले विद्युत् ग्राहकलाई प्रसस्त राहत दिएको विश्वास व्यक्त गरे ।
‘एक वर्षअघि जति ट्रिपिङ हुन्थ्यो त्यसमा यो वर्ष उल्लेख्य सुधार भएको छ भन्ने तथ्याङ्कले पुष्टि गरेको छ,’ शाक्ले भने, ‘प्राधिकरणले पछिल्लो समय प्राविधिक सुधार, प्रणालीगत सुधार, दक्ष जनशक्तिलाई तालिमसहित मर्मत सुधारमा अहोरात्र खटिएर गरेको व्यवस्थापनसहितको कामको परिणाम हो यो ।
उनले ट्रिपिङ बढी हुने सबस्टेसनको पहिचान गरी सुधार गर्ने, त्यहाँको लोड अन्त सार्नेलगायत काममा प्राधिकरण निरन्तर खटिरहेको जानकारी दिए ।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को साउनमा १२९ पटक ट्रिपिङ भएको थियो । उक्त महिना ट्रिपिङका कारण ५९ घण्टा विद्युत् अवरोध भएको थियो । आव २०८२/८३ को सोही महिनामा ११५ पटक ट्रिपिङ हुँदा ४४ घण्टा विद्युत् अवरोध भएको थियो । आव २०८१/८२ को भदौमा १२८ पटक ट्रिपिङ हुँदा ६४ घण्टा विद्युत् अवरोध भएको थियो । त्यस्तै, आव २०८२/८३ को भदौमा ११५ पटक ट्रिपिङ हुँदा ४१ घण्टा विद्युत अवरोध भएको तथ्याङ्कले देखाउँछ ।
आव २०८१/८२ को असोजमा ११२ पटक ट्रिपिङ हुँदा ६१ घण्टा, आव २०८२/८३ को असोजमा ९८ पटक ट्रिपिङ हुँदा ६१ घण्टा, आव २०८१/८२ को कात्तिकमा ७१ पटक ट्रिपिङ हुँदा ३८ घण्टा, आव २०८२/८३ को सोही महिनामा ५९ पटक ट्रिपिङ हुँदा ३१ घण्टा विद्युत अवरोध भएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जानकारी दिए ।
आव २०८१/८२ को मङ्सिरमा ६८ पटक ट्रिपिङ हुँदा ३२ घण्टा, आव २०८२/८३ को सोही अवधिमा ३२ पटक ट्रिपिङ हुँदा १४ घण्टा मात्रै विद्युत् अवरोध भएको तियो । आव २०८१/८२ को पुसमा ५९ पटक ट्रिपिङ हुँदा २८ घण्टा, चालु आवको सोही अवधिमा ५० पटक ट्रिपिङ हुँदा १३ घण्टा विद्युत् अवरोध भएको शाक्यले उल्लेख गरे।
आव २०८१/८२ को माघमा ५४ पटक ट्रिपिङ हुँदा २७ घण्टा, आव २०८२/८३ को माघमा ४४ पट ट्रिपिङ हुँदा १२ घण्टा, आव २०८१/८२ को फागुनमा ६६ पटक ट्रिपिङ हुँदा ३२ घण्टा, आव २०८२/८३ को सोही अवधिमा ४७ पटक ट्रिपिङ हुँदा १२ घण्टा मात्रै विद्युत् अवरोध भएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जानकारी दिए । साउनदेखि फागुनसम्मको अवधिलाई हेर्दा २०८१/८२ को तुलनामा चालु आवमा ट्रिपिङ उल्लेख्य मात्रामा घटेको प्राधिकरणको तथ्याङ्कले देखाएको छ । सात वटै प्रदेशको तथ्याङ्कलाई हेर्दा पनि यही अवस्था देखिन्छ ।
चैत, वैशाख, जेठ र असारमा भने ट्रिपिङको समस्या अन्य महिनाको तुलनामा बढी हुने भन्दै प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु आवका ती महिनामा पनि ट्रिपिङ घट्नेमा पूर्ण आशावादी रहेको जनाएको छ । आव २०८१/८२ को चैतमा ८६, वैशाखमा १०९, जेठमा १५० र असारमा १५३ पटक ट्रिपिङ हुँदा क्रमशः ४२, ५७, ८४ र ६५ घण्टा अवरोध भएको थियो ।
प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन चालिएका सकारात्मक कदमका कारण यो सम्भव भएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बताए । गत आर्थिक वर्षको वैशाख, जेठ र असारमा हावाहुरी र पानीका कारण ट्रिपिङको समस्या बढेको भन्दै यो वर्ष पनि त्यही कारणले बढ्न सक्ने भए पनि यी महिनामा अघिल्लो वर्षको तुलनामा कम गर्ने तयारीमा प्राधिकरण जुटेको उनले जानकारी दिए ।